Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कानका ७ समस्या र बच्ने ९ उपाय

0 32

काठमाडौं, २७ श्रावण ।। कानले आवाज सुन्ने मात्र होइन शरीरको सन्तुलन पनि मिलाउने काम गर्छ । कानको मुख्य तीनवटा भाग हुन्छन् । बाहिरी भाग जसले बाहिरको आवाजलाई भित्र लैजाने काम गर्छ । मध्य भाग जसले बाहिरबाट उत्पन्न भएको ध्वनिलाई तरंगमा ल्याई आवश्यकता अनुसार शरीरभित्र प्रवेश गराउने काम गर्छ । भित्रि कान जसले तरंगबाट निस्केको ‘मेकानिकल इनर्जी’लाई ‘विद्युतीय इनर्जी’मा परिवर्तन गरी  मस्तिष्कसम्म पु¥याउने काम गर्छ र मानिसले सुन्छ । सुन्ने प्रक्रियाको कुनै पनि ठाउँमा गडबड भएमा हामी सहज ढंगले सुन्न सक्दैनौँ ।

श्रवणशक्तिमा ह्रास आउनु, कान पाक्नु, बहिरोपन हुनु, कानमा पिप जम्नु, चोटपटकका कारण कानमा समस्या आउनु आदि कानमा प्रायः भइरहने समस्या हुन् । यस्ता समस्या विभिन्न कारणले हुनेगर्छन् ।

१. संक्रमण

संक्रमण कानको प्रमुख समस्या हो । संक्रमण कानका तीनवटै भागमा हुन सक्छ । कान पाक्नु, दुख्नु, कानमा पिप जम्मा हुनु आदि कानको संक्रमणका लक्षण हुन् । कानको सम्पर्क मस्तिष्कसम्म हुने भएकाले कानको कुनै पनि संक्रमणले मस्तिष्कमा असर गर्न सक्छ । कानमा पिप जम्मा हुँदा त्यो मस्तिष्कमा पुगेर शरीरको सन्तुलन बिग्रिन सक्छ । कानको संक्रमण दुई किसिमको हुन्छ । अल्पकालीन र दीर्घकालीन संक्रमण । अल्पकालीन संक्रमणले कान मात्र पाक्छ र सामान्य औषधिले निको हुन सक्छ । तर कान पाक्ने रोग जटिल हुँदा भित्रि कानको मस्तिष्क नजिकको हड्डी कुहिएर बाह्रै महिना कान पाकिरहने र कानबाट गन्धसहितको पिप बग्ने हुन सक्छ । यसले मस्तिष्कमा समेत असर पार्न सक्छ । यसको उपचारका लागि कानको शल्यक्रिया नै गर्नुपर्छ ।

२. श्रवणशक्तिमा ह्रास

सहरीकरण, औद्योगीकरण र सवारी साधनबाट निस्केको ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास ल्याउँछ । ६० डेसिबलभन्दा बढी हुने ध्वनि हानिकारक मानिन्छ । ८० डेसिबलभन्दा बढी ध्वनिले बहिरोपन ल्याउन सक्छ । विश्वका एक अर्बभन्दा बढी इलेक्ट्रोनिक डिभाइसका प्रयोगकर्ताहरु बहिरोपनको जोखिममा रहेको अनुमान विश्व स्वास्थ संगठनको छ । नेपालमा १६ प्रतिशत मानिस कुनै न कुनै प्रकारको बहिरोपनबाट पीतित भएको अनुमान गरिन्छ ।

३.चक्कर/वाकवाकी र बान्ता

कानको भित्रि भागमा संक्रमण भएपछि यी समस्या देखिन्छन् । कानको भित्रि भागमा हुने कक्लिया र भेस्टिबुलमा समस्या आएमा वा भित्रि भागमा संक्रमण भएमा चक्कर आउने, वाकवाक लाग्ने र बान्ता हुने गर्दछ । कानभित्र ट्युमर भएमा पनि नशाको माध्यमबाट  मस्तिष्कमा असर पुगेर चक्कर आउने समस्या देखा पर्छ ।

४. कान दुखाइ

कानमा संक्रमण फैलिएमा र कानबाट कानेगुजी आउने बाटो अवरुद्घ भएमा कान दुख्छ । कानेगुजी निकाल्नलाई कोट्याउँदा र कान सफा गर्न तेल हाल्दा पनि कान दुख्छ । कानभित्र जम्मा भएको कानेगुजी प्राकृतिक रुपमा आफैँ निस्किन्छ । अप्राकृतिक ढंगले कानेगुजी निकाल्न कान कोट्याउँदा कानेगुजी निस्किने बाटो बन्द हुन सक्छ र कान दुख्छ । कसैकसैमा कानभित्र ठोसपदार्थ धेरै भयो र झोल पदार्थ थोरै भयो भने कानेगुजी बाहिर सहजै ननिस्किन सक्छ, त्यस्तो अवस्थामा चाहिँ चिकित्सकको परामर्श लिई कान सफा गर्नुपर्छ । यस्तै, पटक–पटक रुघाखोकी लागिरहने र शरीरमा रोगप्रतिरोधात्मक शक्ति कम भएकालाई पनि कानको समस्या आउँछ ।

५. कान चिलाउने

शरीरमा दाद र कपालमा चाया भने जस्तै, कानभित्र पनि दाद र चाया दुवै हुन्छ । कानभित्रको दादलाई डर्माटाइटिस भन्ने गरिन्छ । कान चिलाउने अर्को कारण ‘फंगस इन्फेक्सन’ हो, जसलाई हामी ढुसी पलाउने भन्छौँ । कानमा ढुसी जम्मा हुँदा कान चिलाउने गर्छ । ढुसी पर्ने समस्या मधुमेहका बिरामी, कान सफा गररहने, कोट्याउने र तेल हाल्ने बानी भएकामा बढी हुन्छ ।

६.दुर्घटनाबाट हुने समस्या

कानको समस्या कुनै दुर्घटनामा परी वा कानमा कुनै चोटपटकका कारण आउन सक्छ। जोडले कसैले गालामा थप्पड हान्दा पनि कानमा चोट पुगेर कानको जाली फुट्ने समस्या हुन्छ।

७. बहिरोपन

६० वर्षमाथिका बृद्घबृद्घामा बहिरोपन हुन सक्छ । उमेर बढ्दै जाँदा शरीर र कानका कोषहरु विस्तारै क्षयीकरण भई कान कम सुन्ने समस्या आउँछ । यो समस्या वंशाणुगत पनि हुने गर्छ ।

कानको संक्रमणका कारण मेनिन्जाइटिस, मस्तिष्कमा पिप जम्ने रोग, मुख बांगिने आदि समस्या देखापर्ने गर्छन् । कानमा कुनै पनि प्रकारको समस्या देखिएमा बेलैमा सचेत हुनुपर्छ । कान दुखाइसँगै कानका समस्या सामान्य त हुन् नि भनेर चिकित्सककहाँ बेलैमा नजाने हो भने मानिस कान नसुन्ने अवस्थामा पुग्न सक्छ ।

कान सम्बन्धी रोगहरुबाट बच्ने उपाय

१. वैज्ञानिक पद्दतिद्वारा कानको सफाइ र हेरचाहा गर्ने ।

२. कानमा कुनै पनि झोल पर्दाथ नहाल्ने ।

३. रुघाखोकीको उपयुक्त उपचार र हेरचाहा गर्ने ।

४. कानको समस्या भएमा चिकित्सकको परामर्श लिने ।

५. बालबालिकामा कानकोे समस्या भए/नभएको बारे विद्यालयमा शिक्षक र घरमा अभिभावक सचेत हुने।

६. पोषणयुक्त खानेकुरा खाने ।

७. संक्रमण फैलिन नदिन समयमै कानको उपचार गर्ने ।

८. ध्वनि प्रदूषण बाट बच्ने, जोखिममा रहेकाहरुले जाँच गराउने ।

९. जेले भेट्यो त्यहीले कान कोट्याउन वा कानेगुजी निकाल्ने काम नगर्ने ।

प्रस्तुती : पारशविक्रम शाही

टिप्पणीहरू
Loading...