Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

रानाथारु समुदायले आज तिज मनाउँदै

0

कैलाली, २ भदाैं ।। सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा आज तिज पर्व मनाइँदै छ । दुवै जिल्लामा बसोबास गर्ने राना थारु समुदायले तिज पर्व मनाउन लागेको हो । तिज यो समुदायको ठुलो पर्व मानिन्छ । र, धूमधामसँग मनाउने गरिएको छ । आज महिला दिदीबहिनीहरू दिनभरि निराहार व्रत बसेर तिज पर्व मनाउने राना थारु समुदायका बुद्धिजीवी डा. जीवन रानाले बताए । “पानीसमेत नखाएर दिनभरि व्रत बस्ने गर्छौ”, उनले भने “पछि साँझ नदीमा पूजाआजा गरेर त्यहीँ प्रसादको रूपमा तयार पारिएको परिकार खाने चलन छ ।”

राना थारु समुदायको तिज अरू समुदायको तिजभन्दा फरक रहेको छ । महिलाहरू आफ्नो दाजुभाइ, भतिजाको दीर्घायुको कामना गर्दै व्रत बस्ने गरेका छन् । त्यसै गरी, आफूहरूको तिज दरबिनाको तिज रहेको रानाले बताए । “अरू समुदायको जस्तो हाम्रो तिजमा दर खाने चलन छैन”, उनले भने,“साँझ पूजाआजा गरेर एकैचोटी प्रसाद र भात खाने हो ।” नेपालमा अन्य समुदायले मनाइने तिजको अवसरमा महिनौँ दिनसम्म दर खाने गरेको देखिन्छ । तर, राना थारु समुदायका महिलाले दरबिनाको तिज मनाउने गरेका छन् ।

आज तीजको दिन दिनभरि निराहार व्रत बसेर अपराह्न वा बेलुकातिर नदीमा गएर पूजा गर्ने चलन रहेको छ । त्यस क्रममा व्रतालु महिलाहरू समानकी डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर लग्ने गर्दछन् । यसै गरी, झुरकी (कुसको गाँठो) बनाएर लग्ने चलन छ । विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने गरेको स्थानीय रामरतोदेवी रानाले बताइन् ।

मुरिया र झुरकी दुवै नदीमा सेलाइन्छ । सो क्रममा व्रतालुहरुले झुरकी र मुरियालाई नदीको धारमा छोडेर “धारै धार टाढा जानू, हाम्रो दाजुभाइ, भतिजाको उमेर बढाउनू” भन्ने गरेको जनाइएको छ । झुरकी नदीमा बगेर जति टाढा गए दाजुभाइ, भतिजाको आयु त्यति नै लामो हुने विश्वास रहेको उनले बताइन् ।

तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ । यसै गरी, दाजुभाइहरूले व्रतालुहरूलाई आशीर्वादको साथै सकेको दक्षिणा पनि दिने गरेका जनाइएको छ । गोरखापत्रबाट

School
टिप्पणीहरू
Loading...