पहलमानपुर, २१ फागुन ।। कैलालीमा माछा मार्ने क्रममा नदिमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ११ सिसैया गाउँ नजिकै रहेको कान्द्रा नदिमा डुबेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भगवती माई गाउँपालिका वडा नम्बर–४ मनघर दैलेख घर भएका अन्दाजी २२ वर्षीय अमर थापा रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
आफु सँगै काम गर्ने साथीहरु सँग शनिवार कान्द्रा नदिमा माछा मार्न गएका बेला उनी बेपत्ता भएका थिए । आज खबर प्राप्त हुनासाथ अत्तरिया बाट आएको गोताखोर टोलीले खोजी गर्दा नदि कटानबाट बचाउन बनाईएको तटबन्धनको जाली (तार) मा अड्किएको अवस्थामा उनलाई मृत फेला पारेको हो ।
उनी सँग माछा मार्न गएका अन्य ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । थापाको शवलाई पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनी पहलमानपुर लालबोझी सडक खण्डमा निमार्णाधिन सडक निमार्ण कार्यमा मिक्स्चर चलाउने काम गर्दे आएका थिए ।

