कैलाली, ४ फागुन ।। धनगढीमा शिव शिखर बहूद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरूले आन्दोलन सुरु गरेका छन् । आफूले बर्षौ देखी जम्मा गरेको रकम फिर्ताको माग गर्दै आज शिव शिखर बहूद्देश्यीय सहकारी पीडित संर्घष समितिले आन्दोलन सुरु गरेका हुन् ।
‘हाम्रो बचतको ग्यारेन्टी गर, बचत कर्ताको रकम तुरुन्त फिर्ता गर’ लगायतका माग राख्दै आन्दोलन सुरु गरेको शिव शिखर बहूद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष देवदत्त भट्टले बताए ।
बचत कर्ताको १५ अरब ८० करोड रुपैयाँ खाएर शिव शिखरका सञ्चालन फरार रहेको उनले आरोप लगाए ।
‘हामीले प्रशासनिक रुपमा सबै ठाउँमा जानकारी गराइसकेका छौँ’उनले भने,‘प्रधानमन्त्रीलाई पनि ज्ञापन पत्र बुझाइसकेका छौँ, जबसम्म बचतकर्ताले आफ्नो पैसा पाउँदैनन् तब सम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’
भक्तपुर केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले सेवाग्राहीहरूले बचत गरेको रकम फिर्ता गर्न नसेको भन्दै केही दिन अघि सहकारीको कार्यालय समेत घेराउ गरेका थिए । दैनिक बचत, फिक्स बचतकर्तादेखि ठुलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता मागिरहेको बताएका छन्। केही दिन यता सहकारीको धनगढी स्थित कार्यालय दिनभरि निक्षेप फिर्ता माग्ने ग्राहकको घुइँचो लाग्न थालेपछि सहकारी कर्मचारी नै सम्पर्क विहीन भएपछि थप आशङ्का बचतकर्तामा छाएको छ ।
सहकारीले दैनिक चल्ती खातामार्फत रकम सङ्कलन गर्दै आएको थियो। देशभर सेवा विस्तार गर्दै आएको शिव शिखरले सेयर धनी र ग्राहकको रकम फिर्ता गर्न नसक्ने भन्दै केही दिन अघिबाट धनगढी सेवा कार्यालय नै बन्द गरेको छ ।
