मसुरिया, २४ माघ ।। राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत गौरीगंगा नगरपालिकामा नगर स्तरिय समन्वय कार्यक्रम गरिएको छ । फागुन ११ गते देखि २५ गते सम्म संचालन हुने हात्तीपाइले बिरुद्धको आम औषधी सेवनको बारेमा जानकारी दिन कार्यक्रम गरिएको हो ।
कैलालीका केहि स्थानीय तहमा लक्ष्य भन्दा कम मानिसहरुले हात्तीपाइले बिरुद्धको औषधी सेवन गरेको पाईएकोले आम औषधी खुवाउने कार्यक्रम जिल्ला भरि एकसाथ गर्न लागिएको स्वास्थ्य कार्यालय कैलालीका हात्तीपाइले रोग फोकलप्रशन मिन बहादुर धामीले जानकारी दिए ।
दिगो विकास लक्ष्य अनुसार सन २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने राष्ट्रिय संकल्प रहेको स्वास्थ्य कार्यालय कैलालीका हात्तीपाइले रोग फोकलप्रशन मिन बहादुर धामीले बताए । कुल जनसंख्याको ६५ प्रतिशतलाई अनिवार्य रुपमा औषधी खुवाउनु पर्नेमा लक्ष्य रहेको हालसम्मको सर्वेक्षणमा ४९.६७ प्रतिशतले औषधी खाएको पाइएकोले यस पटकको अभियानमा सबैले औषधी खानुपर्ने बताएका छन् । यो औषधी सेवनले ९९ प्रतिशत मानिसहरु परजीवी मुक्त भएको भन्दै सम्पुर्ण मानिसले खान आवश्यक रहेको धामीले बताए ।
नगर प्रमुख देवीदत्त कडेलले हात्तीपाइले रोग निवारण गर्न सबै वर्ग र समुदायको सहभागितामा आम औषधी सेवन कार्यक्रमलाई सफल बनाउन सक्रियतापूर्वक स्वस्फुर्त रुपमा जनचेतना जगाउन आवश्यक रहेको बताएका छन् ।
यस पटक कैलालीमा स्वास्थ्य मापदण्ड अनुसार सम्पुर्ण नागरिकले औषधी सेवन गरेको सुनिश्चितता गर्न स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा ३ प्रकारका औषधी खुवाइने छ ।
उचाइ अनुसार दुई बर्ष माथिका सबै मानिसले औषधी खानुपर्नेमा बिगतमा अभियान सञ्चालन गर्दा केहिले नियमित रूपमा खाने तर शिक्षित, सहरी क्षेत्र र विपन्न वर्गका मानिसहरू बिहानै काममा निस्कने हुँदा नखाई दिने कारणले अपेक्षा गरिएको अनुसार अभियान सफल हुन नसकेकाे कार्यक्रमका सहभागी स्वास्थ्यकर्मीहरुले बताएका थिए ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनिधि लगायतको सहभागिता रहेको कार्यक्रममा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक इश्वरी प्रसाद भुसालले जानकारी दिएका छन् ।
