कैलाली, २६ पाैष ।। सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षे कार्यकालको प्रगति सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारको प्रथम कार्यकालको प्रगति विवरण सार्वजनिक गरेको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विभिन्न अभावकाबीच धेरै कामहरु गरेको बताए । देश संघीयतामा गएपछिको पहिलो सरकार भएकाले भौतिक संरचना, कर्मचारी व्यवस्थापन, कानून, अनुभव लगायतका कुराहरु भोगेर अगाडि बढेको बताउँदै उनले, ‘भने सबै समस्याका बाबजुत कामहरु अगाडि बढायौँ र एउटा आधारशीला हामीले तयार गरेका छौँ, पाँच वर्षको दौरानमा परिणाममुखी काम पनि गरेका छौँ, भोलिको लागि कसरी काम गरेर जाने भन्ने खाका पनि तयार गरेका छौँ, संघीयता नौलोको अभ्यास भएकोले कमसेकम संघीयताको आधारशीला हामीले राख्न सफल भएका छौँ ।’
सरकार गठनपछि मुलरुपमा कृषि, पर्यटन, जडीबुटी, उर्जा, भौतिक संरचनाको विकास लगायतका कुराहरुलाई प्राथमितामा राखेर काम गरेको दाबी गर्दै उनले भौतिक संरचना निर्माणमा सडक, शिक्षाका भौतिक संरचना निर्माण, स्वास्थ्यमा बढीभन्दा बढी काम गर्ने प्रयास गरेको बताए ।
सुदूरपश्चिममा प्रदेश सरकार गठन हुनुभन्दा पहिले ९ वटा जिल्ला हजारदेखि ११ सय किलोमिटर सडक मात्रै कालोपत्रे रहेको बताउँदै उनले पाँच वर्षे कार्यकालमा ४ सय किलोमिटर भन्दा बढी ग्रामीण सडक कालोपत्रे, ७ सय किलोमिटर भन्दा बढी ग्राभेल सडक, १ हजार तीन सय किलोमिटर भन्दा बढी कच्चा सडक निर्माण गरेको बताए ।
‘प्रदेश गौरवका सडक जो ९ वटै जिल्लामा छन् डिपिआर गरेर काम अगाडि बढेका छन्’, उनले भने ।२२ सडक पुल निर्माण सम्पन्न भएको, १५७ किलोमिटर तटबन्धन निर्माण गरेको तथा १९० किलोमिटर पक्की सिँचाइ कुलोे, २८५ किलोमिटर कच्चि कुलो निर्माण भएको र यसबाट १२ हजार ९४५ हेक्टर जमीनमा सिँचाइको व्यवस्था भएको मुख्यमन्त्री भट्टले दाबी गरे ।
जनता आवास कार्यक्रमअन्तर्गत २ हजार ९६० निजी आवासहरु हस्तारण गरिएको, खानेपानीतर्फ नयाँ तथा पुनःनिर्माण गरी ७२३ वटा आयोजनाहरु सम्पन्न भएको जसबाट दुईलाख बढी जना स्वच्छ खानेपानीको सेवाबाट लाभान्वित भएको, शिक्षातर्फ १९३ वटा विद्यालय भवन निर्माण गरेको उनले बताए ।
स्वास्थ्य क्षेत्रमा पनि धेरैकाम गरेको उल्लेख गर्दै उनले सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सञ्चानमा आएको एमआरआइको सबै प्रक्रिया पूरा भएर आउने प्रक्रियामा रहेको, सबै जिल्ला अस्पतालहरुमा विशेषज्ञ सुविधा सञ्चालनमा, ८८ वटै स्थानीय तह रहेका स्वास्थ्य संस्थामा अल्ट्रा साउण्ड सेवा सञ्चानलनमा ल्याइएको उनले जिकिर गरे ।
‘तत्काल चाहिने ऐनहरु बनाइसकेको बताउँदै उनले भने सबैभन्दा महत्वपूर्ण निजामति कर्मचारी ऐन बनाएर लागू हुने प्रक्रियामा छ, प्रदेश प्रदेश प्रहरी ऐन जो हामीले ल्याएका छौँ, तर प्रहरी समायोजन नभएको कारण प्रहरीको कुरा अगाडि बढ्न सकेको छैन’, उनले भने । पाँच वर्ष स्थिर नेतृत्व सुदूरपश्चिम प्रदेश सरकारको पहिलो कार्यकालको नेतृत्व पाँच वर्षसम्म स्थिर रह्यो ।
देशमा विभिन्न समयमा आएका राजनीतिक उतारचढावका कारण विभिन्न प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भएपनि सुदूरपश्चिम प्रदेशमा भने नेतृत्व परिर्वन भएन् । सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र) का तर्फबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरेका छन् ।
पटक–पटक मन्त्रिपरिषद् पनर्गठन भएपनि नेतृत्व भने फेरिएन । २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा डोटी प्रदेशसभा (ख) वाट निर्वाचित भएको भट्ट २०७४ माघ ७ गते प्रदेशसभा सदस्यको सपथ ग्रहण गरेका थिए ।
२०७४ माघ २९ गते माओवादी केन्द्रको तर्फबाट प्रदेशसभामा दलको नेता चयन भएका भट्टलाई २०७४ फागुन ३ गते तत्कालीन प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । २०७४ फागुन ५ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको सपथ ग्रहण गरी २०७४ फागुन ६ गते मुख्यमन्त्रीको पदभार ग्रहण गरेका थिए ।
