कैलाली, ३ मंसिर ।। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रशासनिक नेतृत्वबाट असहयोग भएर काम गर्न समस्या भएको गुनासो गरेका छन् ।
शनिबार धनगढीमा पत्रकार महासङ्घ कैलालीको साधारण सभामा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारको प्रमुखका रूपमा काम गर्दा आफूले प्रणालीमा समस्या देखेको बताए।
‘राजनीतिक र प्रशासनिक रूपमा नेतृत्व सुधार हुन जरुरत रहेको छ। अहिले पनि प्रशासनिक सहयोग नभएर टेबलको फाइल यता र उता गर्नुपर्ने बाध्यता छ,’ उनले भने।
प्रदेश सभाबाट थुप्रै कानुन ल्याए पनि कार्यान्वयन गर्ने अन्य काम गर्न नसकिएको मुख्यमन्त्री भट्टले बताए।
उनले सुदूरपश्चिममा केन्द्र सरकारले ठुला योजना नदिनुले रोजगारी र विकास चाहे अनुसार गर्न नसकिएको बताए।
उनले पत्रकार र सञ्चारमाध्यमले सुदूरपश्चिमको हकमा राष्ट्रिय स्तरमा पनि प्रश्न उठाउनु पर्ने बताए।
‘दुर्गममा विकासका कुरा सरकार समक्ष पुर्याउन सहयोग गर्न आग्रह छ,’ उनले भने।
