पहलमानपुर, १० मंसिर ।। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका १ मा रहेको प्रशिद्ध धार्मिक स्थल घोडाघोडीमा आजबाट लवाँगी पुजा तथा थारु साँस्कृतिक महोत्सव हुन लागेको छ । घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजना र नगर भल्मन्सा संजालको सहकार्यमा हरेक बर्ष झैं यस बर्ष पनि सो महोत्सव हुन लागेको हो ।
सो महोत्सव आज पहिलो दिन कैलाली क्षेत्र नं. ३ बाट हालै प्रतिनिधी सभा सदस्य पदमा निर्वाचित गंगाराम चौधरीले उद्घाटन गर्ने बताईएको छ । यसका साथै प्रदेशसभा सदस्यहरु घनश्याम चौधरी, खुशिराम डंगौरा लगायत थारु समुदायका अगुवा, बड्घर, भल्मन्सा, गुरुवा, बैदवाहरुको समेत उल्लेखनिय सहभागितामा कार्यक्रम उद्घाटन हुने आयोजकले जनाएको छ ।
कैलाली जिल्ला र आसपासका जिल्लाका थारु समुदायको आस्थाको केन्द्र बिन्दुको रुपमा रहेको घोडाघोडीमा यस बर्ष मौलिक थारु झाँकीहरु, गित बाँसहरु प्रस्तुत हुने साँस्कृतिक कार्यक्रम संयोजक सिताराम चौधरीले बताए । उनले महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहनुका साथै थारु मौलिक खानाका परिकारहरु समेत प्रर्दशन हुने बताए ।
घोडाघोडी मन्दिरमा परम्परगत रुपमा पशुबलि चढाई लवाँगी पुजा गरिने महोत्सव आज शनिवारबाट मंसिर १२ गते सम्म चल्ने छ । निशुल्क प्रवेशको ब्यवस्था रहेको उक्त महोत्सवमा कैलाली, कञ्चनपुर लगायत अन्य जिल्लाका सहभागिहरुको उल्लेखनिय सहभागिता रहने अनुमान गरिएको छ ।

