पहलमानपुर, ७ असोज ।। केही दिनअघि आएको बाढीले नदीमा रहेको पुल बगाउँदा कैलालीको घोडाघोडी नगरपालिका–५ का विद्यार्थी मारमा परेका छन् ।
स्थानीय डोडा नदीमा बाढीले काठे पुल बगाउँदा विद्यार्थीलाई अहिले परीक्षामा सहभागी हुन सकस भइरहेको छ । यहाँको घोडाघोडी नगरपालिका– ५ को पूर्वडोडा नदी र पश्चिम कान्द्रा नदी भएकाले खोलामा बाढी आउँदा यहाँका बस्ती डुबानमा पर्ने गर्दछन् ।
स्थानीय दरख माध्यमिक विद्यालय हरिनगरमा कक्षा १ देखि दशजोड दुईसम्मका लागि एक हजार दुई सय विद्यार्थी अध्ययनरत छन् । जसमध्ये तीन सय ५० विद्यार्थी अध्ययनका लागि वनखेत, फारम, सरैया, राजीपुर र पच्घरा गाउँबाट आउने गरेको शिक्षकको भनाइ छ ।
दरख माध्यमिक विद्यालयका शिक्षक वीरेन्द्र चौधरीले भने, ‘नदीमा आएको बाढीले पुल बगाएपछि विद्यार्थीलाई अन्तै लगेर परीक्षा गराउनुपर्ने अवस्था आयो ।’
स्थानीय नारायनपुरको काठे पुलबाट करिब डेढ घण्टा हिँडेर परीक्षा दिन जानुपर्ने बाध्यता रहेको छ । सो क्षेत्रमा बाढीले अधिकांश किसानको धान, गहुँलगायत खाद्यान्नमा क्षति पुगाएको छ । नदीमा तटबन्धन नहुँँदा कान्द्रा नदी र डोडा नदिले वर्षेनी खेतीयोग्य जमिन कटान गर्दै आएको स्थानीयको गुनासो छ । विसं २०७९ असार महिनामा आएको बाढीले चोंगालपिुर राजीपुर पच्घरा जोड्ने काठे पुल बाढीले बगाएको थियो ।
स्थानीयले श्रमदान र नगरपालिकाको सहयोगमा आवत जावत गर्न सकिने गरी पुलको मर्मत सम्भार गरिएको थियो । बाढीले उक्त पुल अहिले बगाएको छ । स्थानीय तह निर्वाचन पछि सो स्थानमा पक्की पुल बनाउन (डिपिआर) तयार गरिएको छ ।
“नगरपालिका र संघीय सरकारको साझेदारीमा रु १ करोड रकम पक्की पुल निर्माणको लागि विनियोजन गरिएको छ”, वडा नं. ५ का वडाध्यक्ष लोकबहादुर चन्दले भने, “ स्थानीय स्तरमा पुल लगायत भौतिक पुर्वाधार निर्माणमा पहल गर्न सक्रियता देखाउने छौं ।” रासस
