Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सुदूरपश्चिम सरकारद्वारा अछामका पहिरो पिडितलाई घरमै पुगेर रकम हस्तान्तरण

0

कैलाली, ७ असोज ।। अछामका पहिरो पीडितका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले घरमै पुगेर राहत रकम हस्तान्तरण गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री डा. राणबहादुर रावल अछामको तुर्माखाद, ढकारी र कमलबजार गाउँपालिकामा गएर राहत रकम हस्तान्तरण गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारले अछामका पहिरो पीडितलाई १३ लाख ४० हजार रकम किरिया पुत्रीलाई हस्तान्तरण गरेको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासनीले जानकारी दिए ।पहिरोमा ज्यान गुमाएका एक व्यक्तिलाई क्षतिपूर्ति स्वरुप एक लाख र किरिया खर्च २० हजार गरी एक लाख बीस हजार र एकै घरपरिवारका एक भन्दा बढी व्यक्तिको पहिरोमा परेर मृत्यु भएका परिवारलाई दुई लाख क्षतिपूर्ति र किरिया खर्च २० हजार गरी दुई लाख ४० हजारका दरले राहत रकम हस्तान्तरण गरिएको प्रदेश सरकारकार प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रावलले बताए । उनले भने,‘अछाममा अहिले प्रारम्भिक रुपमा सुदूरपश्चिम सरकारले राहत लिएर गएको बताउँदै पहिरो पीडितका लागि थप राहतको प्याकेज ल्याइने छ ।’ विपतका समयमा एकअर्कालाई सहयोग भावना देखाउँदै पीडामा मल्हम लगाउन सबैले हातेमाले गर्नुपर्ने समेत उनले बताए ।

अछाममा पहिरोले धेरै क्षति पुगाएको बताउँदै राहत वितरण गर्न पुगेका मख्यमन्त्री त्रिलोचन भट्टले यसलाई चाँडै पुनस्र्थापनाका लागि लाग्ने बताए । ‘अहिले बाटाघाटा सबै बन्द भएका छन्, भएको राहत सामग्री पनि प्रभावित क्षेत्र पुगाउन सकेका छैनौ,’ मुख्यमन्त्री भट्टले भने,‘चाँडै सडक सञ्जाल मर्मत गरेर सामग्री पठाउने छौँ ।’ पहिरोले घरबार सबै उजाडिएको बताउँदै कमलबजार–८, अछामका कल्यान्या दमाईले भने,‘पहिरोले हाम्रो घरबास उजाडियो, अब कहाँ बस्ने र के खाने भन्ने चिन्तामा छौँ ।’

घरखेत बगाएपछि अब जीवन कसरी चलाउने भन्ने पीडा रहेको बताउँदै उनले भने,‘सबै घरखेत बगायो अन्नबाली र लत्ताकपडा समेत नभएकोले दैनिकी चलाउन निकै समस्या भएको छ ।’ गत भदौ ३१ गते राति परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएको थियो । वर्षात्का कारण सबैभन्दा बढी अछाममा क्षति पुगेको थियो । पहिरोले अछाममा २३ जनाको मृत्यु हुनुका साथै १ जना बेपत्ता भएका छन् ।

School
टिप्पणीहरू
Loading...