कैलाली, २७ भदाैं ।। दार्चुलामा शुक्रबार रातीको अविरल वर्षापछि आएका बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएको छ । जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरोले जनजीवन प्रभावित भएको छ ।
बाढीपहिरो पीडितलाई सरकारी तथा गैर सरकारी निकायले राहत वितरण गर्ने कार्य गरिरहेका छन् । सोही क्रममा बाढीपहिरो प्रभावित परिवारलाई राहत वितरणका लागि वाईसीएल नेपालको टिम प्रभावित क्षेत्रमा हिँडेको छ ।
आइतबार राहत सामग्री लिएर धनगढीबाट दार्चुला हिँडेको वाईसीएल नेपालको टिमले सोमबार (आज) प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गर्ने वाईसीएल नेपालका केन्द्रीय सदस्य तथा नेकपा (माओवादी केन्द्र) धनगढी उपमहानगर कमिटीका अध्यक्ष डबलबहादुर खाती ‘सुरज’ले जानकारी दिए ।
उनले भने, ‘हामीले १५० बोरा चामल, दाल, कम्बल लिएर आएका छौँ, आज दिउँसो प्रभावित क्षेत्रमा पुगेर वितरण गछौँँ, प्रत्येक पीडित परिवारलाई १ बोरा चामल, ५ किलो दाल, प्रति प्रभावित परिवारलाई १–१ कम्बल वितरण गर्छौँ, सबै प्रभावितलाई राहत बाँड्ने हाम्रो उदेश्य हो, सबैको डाटा खोजेर वितरण गर्छौँ ।’
केन्द्रीय पदाधिकारीलगायतले केही रकम जम्मा गरेर राहत वितरणको जोहो गरेको उनले बताए । बाढीपहिरो प्रभावितलाई थोरै भएपनि राहत पुगोस् भन्ने उदेश्यले वाईसीएल नेपालको उदेश्य रहेको खातीले बताए ।
राहत वितरण टिममा वाईसीएलका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरुलगायत प्रदेश प्रतिनिधिहरु रहेको उनले जानकारी दिए । दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा भीषण वर्षापछि आएको बाढीपहिरोले ठूलो धनजनको क्षति भएको छ ।

