राजेन्द्र कठरिया, पहलमानपुर, १९ भदौं ।। कठरिया समुदायमा आज “बन्ना अतबार” मनाइदै छ । भाद्र शुक्ल पक्क्ष (उजेरी) काे पहिलाे आईतबार लाई कठरिया थारु समुदायमा “बन्ना अतबार” काे रुपमा मनाउने चलन छ । यद्यपि याे बर्ष भाद्र शुक्ल पक्क्ष (उजेरी) काे पहिलाे आईतबार भाद्र १२ गते परेका थियाे तर साे दिन परेवा (प्रतिपदा) परेकाे थियाे ।
कठरिया मान्यता अनुसार दुइज पछिकाे आईतबारलाई बन्ना अतबारकाे लागि शुभ मानिने हुनाले १९ गतेकाे आईतबारलाई बन्ना अतबार काे रुपमा मनाउन लागिएकाे हाे । बन्ना अतबारलाई चाँडपर्व भन्दा पनि एउटा पुजाकाे रुपमा मनाइने गरिन्छ । यस दिन घरका प्रमुख ब्यक्ति तथा इच्छुक घरका अन्य सदस्य बिहान उठेर नुहाइ धुवाइ गरि एक थाेपा पानी समेत नखाई निर्जला ब्रत बस्ने गरिन्छ ।
दिउँसाे दिन ढलेपछि लगभग तिन बजे तिर घरका आईमाई मान्छे नुहाइ धुवाई गरि भान्सा भन्दा बाहिर सफा ठाउँ उसार (बरण्डा ) मा गाईकाे गाेबरले लिपेर खाना काे रुपमा भात पकाउने गर्छन् । खानाकाे परिकार काे रुपमा भात, कच्चि मिठाइ (भेली ) र दुध तथा घ्यु हुने गर्दछ । पहिला घरका जाे-जाे सदस्यहरु ब्रत बसेका हुन्छन् तिनकाे भाग भात, कच्चि मिठाई र घ्यु थालमा पस्केर राखिन्छ ।
त्यसपछि घरका ब्रत बसेका सबै जना पालै पालाे आ-आफ्नाे भागकाे थाल बाट अलि अलि गरेर बलेक कण्डी ( सुकाएकाे गाई काे गाेबर ) मा सररी काठकाे चुक्सि (सल्ला काठकाे धुलाे ) धुपकाे रुपमा चढाएर साथमा भात, कच्ची मिठाई , घ्यु , दुध र पानी चढाएर अगेरी गर्ने गरिन्छ । सबै जना अगेरी गरिसकेपछि ब्रत खाेली कच्चि मिठाई तथा घ्यु सँग भात खाने गर्दछन् ।
साथै मिठाइ तथा घ्यु भात प्रसादकाे रुपमा बाँड्ने चलन पनि छ । यस दिन नुन , तेल लगाएत कुनै पनि मसला तथा तरकारि खाइदैन । साे दिन सुर्यास्त भैसकेपछि केहि खाना तथा पानी पिउना बन्देज गरिएकाे हुन्छ । भाेली पल्ट बिहाना सबेरै उठेर सुर्य उदाइ सकेपछि नुहाइ धुवाइ गरेर एक पटक फेरि गाईकाे गाेबरकाे कण्डिकाे आगाेमा सररी काठकाे धुलाे धुपकाे रुपमा चढाएर पानीले अगेरी गरिन्छ ।
यसलाई फरहार गर्ने भनिन्छ । यसपछि कठरिया थारु समुदायकाे बन्ना अतबारकाे ब्रत तथा पुजा पुरा हुन्छ । कठरिया थारु समुदायमा बन्ना अतबारकाे ब्रतकाे धेरै महत्व हुन्छ । घरका प्रमुख ब्यक्तिले आफ्नाे घरका सदस्यहरु काे राेग ब्याधि, घाउ खटिरा नहाेस् तथा घरमा सुख शान्ति तथा समृद्धी बनि रहाेस् भनि मान्यता गरेका हुन्छन । त्यहि मान्यता पुरा हाेस् भनि याे ब्रत बस्ने गरिन्छ ।
