बैतडी, ५ भदौं ।। बैतडीमा एकै घरका चार दिदीबहिनी सुरक्षा निकायमा सेवारत छन् । आठ दिदी बहिनीमध्ये तीन बहिनी नेपाली सेना र एक बहिनी नेपाल प्रहरीमा कार्यरत छन् । दुई बहिनीमध्ये एकले नेपाल प्रहरी र अर्कीले नेपाली सेनाको लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको तयारीमा छन् ।
बाँकी दुई जना शिक्षण पेसामा छन् । बैतडीको मेलौली नगरपालिका–७, गाउँकोटका आठ दिदीबहिनीले प्रमाणपत्र तहदेखि स्नातकोत्तर सम्मको पढाइ पूरा गरेका छन् । भारतीय सेना गोरखा रेजिमेन्टमा कार्यरत करवीर चन्दले छोराको आसैआसमा आठ छोरीको मुहार देखेका थिए । नेपाल प्रहरीमा कार्यरत सरिता चन्दले भनीन् ‘लाहुरेको घरमा छोरा जन्मेन भनेर गाउँ समाजले कुरा काट्थे रे । छोराको आसमा प्रत्येक दुई वर्षको अन्तरालमा हामी जन्मिएछौँ ।’

जेठी बबिता चन्द र माइली मञ्जु चन्द गाउँकै विद्यालयमा शिक्षक छन । मुन्नी चन्द, इन्द्रा चन्द र अनिता चन्द नेपाली सेनामा कार्यरत छन । मनिसा चन्दले नेपाल प्रहरी र अमृता चन्द नेपाली सेनाको लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको तयारीमा छिन । सरिताले भनीन ‘अहिले पनि नेपाली समाज छोराको खोजी हुन्छ, त्यो बेला बैतडीको दुर्गम गाउँमा कस्तो थियो होला ?’
छोराको आशमा करवीर चन्दले उतीबेला देवी देउताको भाकल र पूजा गरेपनि अहिले भने छोरीको सफलता देखेर खुसि छन ।
