कैलाली, ५ भदौं ।। कैलालीका ४३ जनाले मिटरब्याजी विरुद्ध उजुरी दिएका छन् । गृह मन्त्रालयले भदौ ५ गतेसम्म मिटरब्याजीबाट पीडित भएकाहरुलाई उजुरी दिन आह्वान गरेको थियो । सोही अनुसार कैलालीका ४३ जना पीडितले आइतबार सम्म मिटरब्याजी विरुद्ध उजुरी दिएका हुन् । मन्त्रालयको आह्वानपछि साउन २८ गतेदेखि नै उजुरी दर्ता गर्न पीडितहरु आएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले गृह मन्त्रालयको निर्देशन अनुसार जिल्लामा पीडितहरुको उजुरी संकलन गरिएको बताए । उनले भने, ‘जिल्लामा मिटरब्याजीबाट पीडित हुनेको संख्या धेरै छ । छोटो अवधि र प्रचार–प्रसार अभाव हुँदा धेरै मानिसहरु उजुरी दिन आउन सकेनन् । अझै केही छुट भएको हुन सक्ने हामीले महसुस गरेका छौं ।’
उनले संकलन भएका उजुरीहरुलाई गृह मन्त्रालयसम्म पठाइने र मन्त्रालयको निर्देशनपछि आगामी कदम चालिने बताए । मिटरब्याजीले आर्थिक विपन्न तथा निरक्षर परिवारलाई ब्याजमा रकम दिएर उनीहरुको विचल्ली बनाएको समाचार आएपछि सरकारले उनीहरुविरुद्ध कडा कदम चालेको छ ।

