पहलमानपुर, ५ भदौं ।। कठरिया समाज नेपालको साधारण सभा शनिवार कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १० पहलमानपुरमा सम्पन्न भएको छ । संस्थाका केन्द्रिय अध्यक्ष दुखिराम कठरियाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी कैलारी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष तारामल कठरिया रहेका थिए ।
सो संस्थाका केन्द्रिय उपाध्यक्ष गीता कठरियाको स्वागत मन्तब्य सँगै सुरु भएको कार्यक्रममा कोइलीभुरुवा गाउँका समाजसेवि अमर कठरिया, वालचन्द्र कठरिया, सिसैया गाउँका पण्डितराम कठरिया, कठरिया समाज नेपालका पुर्व उपाध्यक्ष रामसमझ कठरिया, पुर्व कोषाध्यक्ष सुरज कठरिया, मुनुवाका मान बहादुर कठरिया, कठरिया सन्देशका प्रधान सम्पादक टीआर कठरिया, बगलैहियाका सुरेश कठरिया लगायतले मन्तब्य राखेका थिए ।
लामो समय पश्चात भएको संस्थाको साधारण सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष दिल बहादुर कठरियाले प्रस्तुत गरेका थिए । संस्थाको संस्थापक कार्यसमितीले साधारण सभा बोलाई आर्थिक गतिविधी फर्छैट पार्न नसकेकाले आफुहरुले अनुमानित प्रतिवेदन प्रस्तुत गरेको कोषाध्यक्ष कठरियाले कार्यक्रममा प्रष्ट पारेका थिए ।
संस्थाका सहसचिव अनिल कठरियाले संचालन गरेको कार्यक्रममा संस्थापक कार्यसमितीका पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो भने उक्त कार्यक्रममा जिल्लामा रहेका विभिन्न गाउँका कठरिया बुद्धिजिवी, समाजसेवि, बड्घर, भल्मन्सा, अगड्या लगायतको उत्साहजनक सहभागिता रहेको थियो ।
कठरिया समुदायको एक मात्र मातृसंगठनको रुपमा रहेको संस्थाको बिगत केही बर्ष देखी साधारण सभा हुन सकिरहेको थिएन् । गत श्रावन १४ गते दुखिराम कठरियाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन पश्चात् साधारण सभा गरिएको हो ।


