घनश्याम पौडेल, कैलाली, ५ भदौं ।। लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा कैलालीमा एक महिलाले आत्महत्या गरेकी छिन् । जिल्लाको गौरीगङ्गा नगरपालिका वडा नं १ की ४० वर्षीया रेश्मा चौधरीले ऋण तिर्न नसक्दा आत्महत्या गरेकी हुन ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको गौरीगङ्गा नगरपालिका वडा नं १ मा रहेको शाखाबाट उनले ऋण लिएकी थिइन् । तीन लाख बीस हजार रुपैयाँ ऋण लिएकोमा दुई लाख उनचालिस हजार रुपैयाँ तिर्न नसक्दा चौधरीले बिषादी सेवन गरेर आत्महत्या गरेकी हुन ।
यहि भदौ १ गते संस्थाको केन्द्र समूह बैठकमा नियमित किस्ता बचत र ऋण ब्याज तिर्न नसक्दा सस्थाका कर्मचारी सहितको समूहले रकम तिर्न दबाब दिन उनको घरमा सूचना टाँस गरेर बिहान ११ बजे तालाबन्दी गरेको संस्थाको केन्द्र हेर्ने फिल्ड कर्मचारी सन्तरानी चौधरीले बताइन् । सो दिन पनि रेश्मा किस्ता रकम तिर्न नआएपछि संस्थाका कर्मचारी पुनः साझ ५ बजे दबाब दिन घरमा पुगको सन्तरानीले बताइन् ।
आर्थिक अवस्था कमजोर रहेको र तुरुन्तै पैसा तिर्न सक्ने स्रोत नभएपछि ३ महिना भित्र घर जग्गा जायजेथा बिक्री गरेर ऋण तिर्ने बताउँदै गर्दा ऋण लिँदाका साक्षी समूहका सदस्य र संस्थाका कर्मचारीले जसरी पनि तिर्नुपर्ने दबाब सृजना गरेपछि तनावग्रस्त रहेकी आमाले आत्महत्या गरेको मृतकका छोरा सरोज चौधरीले बताए ।
‘केन्द्र बैठकमा उहाँ (रेश्मा) आउनु भएन ऋण लिदा साक्षी बसेका सदस्यले ऋण लिन नपाउने व्यवस्था अनुसार रेश्मालाई पैसा तिर्न दबाब सृजना गर्न तालाबन्दी गरिएको थियो । तर उहाँले यस्तो अप्रिय निर्णय लिनुहोला भन्ने सोचिएन’, संस्थाका शाखा प्रमुख राजकुमार चौधरीले भने । रेश्माले लगातार तीन महिना ऋणको किस्ता नतिरेपछि केन्द्रका सदस्यहरुको सल्लाह अनुसार रकम तिर्न दबाब दिन तालाबन्दी गरिएको शाखा प्रमुख चौधरीले बताए ।
सो संस्थाले चौधरीको घरमा तालाबन्दी गर्दा इलाका प्रहरी कार्यालय चौमालालाई कुनै जानकारी नगराएको इप्रका प्रमुख प्रहरी नायब निरीक्षक विशनदत्त भट्टले बताए । एकाबिहानै महिलाले विषादी सेवन गरेर मेडिकलमा ल्याएको सूचना पाएपछि थप उपचारका लागि धनगढी लौजान घरपरिवारले पैसाको जोहो गरेर अस्पताल लौजाने कुरा गरेपछि एम्बुलेन्सको व्यवस्था गरेर धनगढी पठाएको प्रनानि भट्टले जानकारी दिए ।
‘ऋण लिँदा घरपरिवारलाई थाहा थियो तर कसरी तिर्ने भन्नेमा सबै चिन्तित थियौ । बिना कुनै जानकारी घरको भित्तामा एक्कासी सूचना टास गरेर तालाबन्दी गर्दा सुगर प्रेसरको दीर्घ रोगी श्रीमतीले अतालिएर ज्यान फाल्ने कदम चालेको हो’, मृतकका श्रीमान् प्रदेशुले भने । मृतकको शनिबार अन्त्येष्टि गरिएको छ ।

