सामाजिक सञ्जाल फेसबुकले गोप्य कुराकानी गर्न ‘सेक्रेट कन्भर्सेसन’ फिचरमार्फत प्रयोगकर्तालाई इन्ड-टु-इन्ड इन्क्रिप्सन सेवा दिइरहेको छ । यसका लागि प्रयोगकर्ताले आफूले गोप्य कुरा गर्न चाहेको व्यक्तिसँग छुट्टै ‘सेक्रेट कन्भर्सेसन’को च्याटबक्स क्रियट गर्नुपर्ने हुन्छ । तर कम्पनीले अब फेसबुकमा गोप्य कुराकानीलाई थप सहज बनाउने भएको छ ।
कम्पनीले फेसबुक मेसेन्जरमा डिफल्ट फिचरको रुपमा इन्ड-टु-इन्ड इन्क्रिप्सन सेवा दिनका लागि परीक्षण गरिरहेको छ । कम्पनीले यही हप्तादेखि केही सीमित प्रयोगकर्तामाझ यो फिचरको परीक्षण गर्ने बताएको छ ।
डिफल्ट रुपमा उपलब्ध हुने इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचरले प्रयोगकर्तालाई थप सुरक्षा प्रदान गर्ने कम्पनीको बुझाइ छ । यो फिचरमा कम्पनी आफैँले पनि प्रयोगकर्ताको कुराकानीको कुनै पनि रेकर्ड राख्नसक्ने छैन ।
साथै यस्तो प्रकारको कुराकानी कुनै ह्याकरले ह्याक गर्न कठिन हुने बताइएको छ । त्यस्तै यो फिचरले डिजिटल कुराकानीलाई सुरक्षित पनि बनाउने कम्पनीको भनाइ छ ।
मेसेन्जरमा कसरी इन्ड-टु-इन्ड इन्क्रिप्सन सुरु गर्ने ?
इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचरलाई गोप्य कुराकानी अर्थात् सेक्रेट कन्भरसेसनको नाम दिइएको छ । फेसबुक मेसेन्जरमा कुनै पनि व्यक्तिसँग गोप्य कुराकानी गर्नुपर्यो भने तलको प्रकिया अपनाउन सक्नुहुन्छ ।
-सबैभन्दा पहिले फेसबुक मेसेन्जरमा जानुहोस् ।
-त्यसपछि गोप्य कुराकानी गर्न चाहेको वा भनौं इन्ड-टु-इन्ड इन्क्रिप्सन सुचारु गर्न चाहेको व्यक्तिको च्याट खोल्नुहोस् ।
-अब माथि बायाँपट्टि रहेको प्रोफाइलको आइकनमा थिच्नुहोस् ।
-त्यसपछि गो टु सेक्रेट कन्भर्सेसनमा थिच्नुहोस् ।
-अब च्याटको नयाँ इन्टरफेस देखिन्छ ।
-त्यसपछि आफूले गर्न चाहेको गोप्य कुराकानी सुरु गर्नुहोस् ।
-उक्त च्याट केही समयको अन्तरालमा हराउँछ ।
इन्ड-टु-इन्ड इन्क्रिप्सन सुरू गर्ने अर्को तरिका
गोप्य कुराकानी मात्र मेसेन्जरको इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर होइन । मेसेन्जरमा इन्ड-टु-इन्ड इन्क्रिप्सनका लागि ‘भेनिस मोड’ समेत रहेको छ ।
मेटाले यो फिचर नोभेन्बर २०२० मा प्रयोगकर्तालाई स्न्यापच्याटको जस्तो अनुभव दिनका लागि सार्वजनिक गरेको थियो । जसका माध्यमबाट च्याट सकिएपछि मेसेज स्वतः गायब हुन्छ ।
मेसेन्जरमा ‘भेनिस मोड’मार्फत कुराकानी गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस्
-सबैभन्दा पहिले फेसबुक मेसेन्जर खोल्नुहोस् ।
-त्यसपछि आफूले ‘भेनिस मोड’मार्फत इन्ड टु इन्ड इन्क्रिप्सन सुरु गर्न चाहेको व्यक्तिको च्याट खोल्नुहोस् ।
-त्यसपछि मेसेज बक्सबाट स्वाइप अप गर्नुभयो भने मेसेन्जरमा ‘भेनिस मोड’ खुल्छ ।
