पहलमानपुर, ५ श्रावण ।। नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका नेकपा (एमाले) का घोडाघोडी नगर कमिटी सचिव खडक चौधरी पुनः पुरानै पार्टीमा फर्किएका छन् । विहिवार सामाजिक संजालमा एक विज्ञप्ती जारी गर्दै उनि सो पार्टीमा फर्किएको जानकारी गराएका हुन् ।
चौधरी असार २५ गते जिल्लाको घोडाघोडी नगरपालिका २ सुखडमा आयोजित एक कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका थिए । उनी पार्टी प्रवेश गरेको तेह्रौ दिनमा आज पुनः नेकपा (एमाले) मा फर्किएका छन् ।
नेकपा (एमाले) को तर्फबाट स्थानिय तहको निर्वाचनमा घोडाघोडी नगरपालिका वडा नं. १२ को वडा अध्यक्षका उम्मेदवार समेत रहेका चौधरीले पार्टीले निर्वाचनमा आफुलाई असहयोग गरेको भन्दै आफुले आफ्नो जिम्मेवारीबाट राजिनामा दिएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ ‘जिम्मेवारीबाट राजीनामा दिए पश्चात निष्क्रिय बसेको मलाई मेरो निष्क्रियता कमजोरीको रुपमा रहेको महशुस भएको छ । जस कारण आत्मा आलोचित हुँदै आफ्नो आशा र भरोसाको मातृ पार्टी नेकपा (एमाले) मा सक्रिय रुपमा लाग्ने छु भनि प्रतिबद्धता ब्यक्त गर्दछु ।’
उता चौधरी का समर्थकहरुले सामाजिक संजालमा यस विषयमा अनेक थरि बिश्लेषण गरिरहेका छन् ।

