पहलमानपुर, ५ श्रावण ।। कैलालीको घोडाघोडी नगरपालिकाको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र नगरपालिकाको टोलीबीच भेटवार्ता भएको हो ।
भेटमा घोडाघोडीमा रहेको कन्द्रा नदीले प्रत्येक वर्ष ठूलो क्षति पुर्याएको हुँदा त्यसको तटबन्ध, घोडाघोडीमा नगरस्तरीय रिङरोड र नगर कार्यालय बनेको क्षेत्रको भोकाधिकारको विषयमा छलफल भएको थियो । प्रधानमन्त्री देउवा सबै विषयमा सकारात्मक रहेको घोडाघोडी नपा- १ का वडाध्यक्ष एवं नगर प्रवक्ता घनश्याम ओझाले जानकारी दिए ।
उनका अनुसार भेटमा घोडाघोडी २ मा सञ्चालन हुन लागेको नगर अस्पतालमा आवश्यक उपकरण उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो ।
प्रधानमन्त्री भेट्न मेयर खडक रावत, उपमेयर गुलिया चौधरी, प्रमुख कार्यकारी अधिकृत दीपक आचार्य, वडा नम्बर १ का अध्यक्ष ओझा, ३ का अध्यक्ष कृष्ण गौतम र कांग्रेस कैलालीका उपसभापति भीम बडुवाल बालुवाटार पुगेका थिए ।
