घनश्याम पौडेल, मसुरिया, ३० असार । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ९ को मसुरिया स्वास्थ्य चौकीलाई जिल्लाको पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरि मसुरिया स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।
पोषण सम्बन्धि १८ वटा सूचाङ्कको मूल्यांकनका आधारमा पोषणमैत्री स्वास्थ्य संस्था बन्न सफल भएको स्वास्थ्य चौकीका प्रमुख लालप्रसाद पन्तले जानकारी दिएका छन् । जिल्ला समन्वय समिति कैलाली प्रमुख पदमबहादुर कलेलले मसुरिया स्वास्थ्य चौकीले मध्यवर्ती क्षेत्रको जनस्वास्थ्यमा महत्वपूर्ण सेवा प्रवाह गरेको भन्दै आफ्नो तहबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
गौरीगंगा नगरपालिका प्रमुख देवीदत्त कडेलले पोषणमैत्री स्वास्थ्य चौकी घोषणासँगै गुणस्तरीय सेवा प्रवाहमा नगरपालिकाको सहयोग रहने बताएका छन् । कडेलले आमा समूहको स्वास्थ्य चौकी घेरबार पर्खाल निर्माणको योजनाको बजेट फ्रिज जानूमा सोही जग्गामा बसोबास गरिरहेका परिवारको व्यवस्थापन हुन नसक्दा बजेट फ्रिज गएको बताएका थिए ।
निवर्तमान वडा अध्यक्ष हरिप्रसाद तिवारीले आफ्नो कार्यकालमा मसुरिया स्वास्थ्य चौकीलाई सुदूरपश्चिम प्रदेशको पहिलो पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गर्ने प्रयास गरेको तर तत्कालीन नगरको नेतृत्व र केहि व्यक्तिको असहयोगले गर्न नसकिएको बताए ।
मसुरिया स्वास्थ्य चौकीलाई मध्य क्षेत्रको उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा विकसित र विशेषज्ञ सेवा सहितको अस्पतालमा देख्न आफू सदैव प्रयत्नशील रहेको भन्दै तिवारीले गौरीगंगा नगरपालिकाको बर्तमान नेतृत्वले विगतमा अभावका बिच स्तरिय सेवा दिने बिगतको भन्दा उत्कृष्ट बनाउनु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा वडा नं ५ का अध्यक्ष विष्णु भाट, युनिसेफ पोषण अधिकृत प्रकाश चन्द्र जोशीले समेत मन्तव्य राखेका थिए ।
स्वास्थ्य चौकीलाई सहयोग गर्ने समाजसेवी दिनेशराज जोशी, निवर्तमान वडा अध्यक्ष हरि प्रसाद तिवारी, निवर्तमान स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष पवन कुमार बोगटी, सदस्य गणेश विक, स्वास्थ्य चौकीका सिनियर अहेब दिनेशराज जोशी, फाया नेपालका सुआहारा कार्यक्रम सुपरभाइजर यज्ञराज अवस्थी र स्वास्थ्य चौकी प्रमुख लालप्रसाद पन्त, स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी, स्वयंसेविका लगायतलाई सम्मान गरिएको थियो ।
वडा नं ९ का अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थारुको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

