कैलाली, ५ असार ।। कैलारी गाउँपालिकाको गाउँपालिका स्तरीय अनुगमन समितिले गाउँपालिकाको अनुदानमा बनेका माछा पोखरीको अनुगमन गरेको छ । गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक भगवतीकुमारी चौधरी सहित प्राविधिक टोलीले वडा नम्बर ५ र ७ मा रहेका माछापालन योजनाहरूको स्थलगत अनुगमन गरेको हो ।
केही निर्माणाधीन योजनाको काम सन्तोषजनक भए पनि केही पोखरीको काम सुधार गर्नुपर्ने उपाध्यक्ष भगवतीकुमारी चौधरीले बताइन् । अनुगमनमा सहभागी पशु शाखाका पशु चिकित्सक सूर्यप्रसाद चौधरी स्टिमेट अनुसार काम भएको तर धेरै जसो पोखरी दर्ता नभएको दर्ता गर्न सुझाव दिएको बताए ।
अनुगमनमा आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ अध्यक्ष विष्णु प्रसाद चौधरी, भौतिक पूर्वाधार विकास समितिका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष प्रेमबहादुर चौधरी, पशु शाखाका पशु चिकित्सक सूर्यप्रसाद चौधरी, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी, अनुगमन समिति सदस्य सुनिला चौधरी लगायत सहभागी थिए ।


