कैलाली, ४ असार ।। थारु कल्याणकारिणी सभा कैलालीले थारु समुदायबाट कैलालीका स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गरेको छ । सभाले कैलारी गाउँपालिकाको हसुलियामा शनिबार कार्यक्रमको आयोजना गरी थारु समुदायबाट निर्वाचित जनप्रतिनिधिलाई ज्ञापन गरेको हो । थारु कल्याणकारिणी सभा कैलालीका कार्यबाहक सभापति माधव चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थाकस केन्द्रीय सदस्य रामचरण चौधरी प्रमुख अतिथि रहेका थिए । यसैगरी, केन्द्रीय सदस्य प्रभातकुमार चौधरी विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले थारु समुदायबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बधाईका साथै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । यसैगरी, थारु समुदायका जनप्रतिनिधिको संयन्त्र निर्माण गर्नु पर्ने, टीकापुर घटना राजनीतिक रहेकाले त्यसको सोही अनुसार समाधानका लागि आवाज उठाउनु पर्ने बताएका छन् ।

यस्तै, थारु समुदायमा रहेको प्रथाजन्य मूल्य मान्यतालाई कानूनी मान्यता दिनु पर्ने बताएका थिए ।कार्यक्रममा थाकस केन्द्रीय सदस्यद्वय रामचरण चौधरी, प्रभातकुमार चौधरी, कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, लम्कीचुहा नगरपालिकाका उपप्रमुख जुना चौधरी, कैलारी गाउँपालिकाका ३ का वडा अध्यक्ष सन्तराम चौधरी, धनगढी ७ का वडा अध्यक्ष मोती राना, लम्कीचुहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हर्क कठरिया लगायतकाले मन्तव्य राखेका थिए ।
कार्यक्रम धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, लम्कीचुहा नगरपालिकामा जितेका जनप्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीबाट जितेका जनप्रतिनिधिको भने उपस्थिति थिएन । सो पार्टीबाट टीकापुर नगरपालिका प्रमुख रामलाल डङ्गौरा थारु, भजनी नगरपालिकाका प्रमुख केवल चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर चौधरी र जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टी कैलालीमा ठूलो दल हो ।
यसैगरी, धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला राना थारुको पनि कार्यक्रममा उपस्थिति थिएन । कार्यव्यस्तताको कारणले उनीहरु उपस्थित नभएको जनाइएको छ ।कैलालीमा थारु समुदायबाट २७१ जना स्थानीय तहमा निर्वाचित भएका छन् । यो समुदायबाट दुई नगरपालिकामा नगर प्रमुख, तीन पालिकामा गाउँपालिका अध्यक्ष विजयी भएका छन् । टीकापुर नगरपालिकाको मेयरमा रामलाल डङ्गौरा थारु, भजनी नगरपालिकाको मेयरमा केवल चौधरी निर्वाचित भए ।
यस्तै, जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर चौधरी र कैलारी गाउँपालिकाको अध्यक्षमा राजसमझ चौधरी निर्वाचित भए ।यस्तै, तीन नगरमा उपप्रमुख र तीन गाउँपालिकामा उपाध्यक्ष थारु समुदायबाट निर्वाचित भएका छन् । धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा कन्दकला राना, लम्कीचुहा नगरपालिकामा जुना चौधरी र घोडाघोडी नगरपालिकाको उपप्रमुखमा गुलियादेवी चौधरी निर्वाचित भएका छन् ।

यसैगरी जानकी गाउँपालिकाको उपाध्यक्षमा लालमतिदेवी कठरिया, जोशीपुरको उपाध्यक्षमा रेखादेवी कठरिया र कैलारी गाउँपालिकाको उपाध्यक्षमा भगवती चौधरी निर्वाचित भउका छन् । कैलालीमा थारु समुदायबाट वडा अध्यक्षमा ५८ र वडा सदस्यमा २०२ जना निर्वाचित भएका छन् ।
