कैलाली, ४ असार ।। प्रधानमन्त्री शेर बहादुर देउवाले गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडी बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै उनले यस विषयमा तत्काल विधेयक ल्याएर काम अघि सार्ने बताएका हुन् । ‘गेटा मेडिकल कलेज प्रतिष्ठान सम्बन्धी ऐन ल्याएर काम अघि बढ्छ ’ प्रधानमन्त्री देउवाले भने ‘यो विषय उठाइदिनु भएकोमा धन्यवाद ।’ देउवाले सुदूरपश्चिम प्रदेशमा विकासले गति पाइरहेको समेत उल्लेख गरे ।

कैलालीमा नदी कटानको समस्या रहेको भन्दै देउवाले यस विषयमा समेत आफूले पहल गर्ने जनाएका छन् । उनले भने, ‘अहिले नदी कटानको समस्या छ । मोहना नदी देखी पूर्व सत्ती सम्म सबै मिलेर गर्न सकिन्छ । भारतसँग कुरा गर्न सकिन्छ । ’
धनगढी उपमहानगरपालिकालाई सुन्दर र सुरक्षित बनाउन अतिक्रमण हटाउनु पर्नेमा प्रधानमन्त्री देउवाले समेत जोड दिएका थिए ।

