टीआर कठरिया, पहलमानपुर, १४ जेठ ।। कैलालीमा प्रमुख बासोबास रहेको कठरिया थारु समुदाय सामुदायिक होम स्टे (घरबास) संचालनका लागि तयारीमा जुटेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ११ तपा गाउँका कठरिया समुदाय आफ्नो कला, संस्कृति र मौलिकताको जगेर्ना गर्न होम स्टे संचालनको तयारीमा जुटेका हुन् ।
होम स्टे (घरबास) संचालन सम्बन्धि कार्यक्रम
सो गाउँमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय तारा गाउँ विकास समितिको आयोजना तथा तपा कठरिया गाउँका स्थानियहरुको सक्रियतामा शुक्रवार होम स्टे सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
गाउँका बुद्धिजिवी, समाजसेवि नन्दराम कठरियाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी घोडाघोडी ११ का वडा अध्यक्ष दान सिंह जोगी रहेका थिए भने विशिष्ट अतिथीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय तारा गाउँ विकास समितिका निमित्त सदस्य सचिव मदन गोपाल बानिया, वडा सदस्य पार्वती कठरिया र पर्यटन ब्यवसायी डवल शाह रहेका थिए ।
ग्रामिण पर्यटनको विकास तथा विस्तार, प्रवर्द्धनको क्षेत्रमा काम गर्दै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारा गाउँ विकास समिति देशकै पुरानो संस्था भएको बताउँदै संस्थाले ग्रामिण पर्यटन खास गरि होम स्टेको क्षेत्रमा देशैभर कार्यक्रम गर्दै आएको संस्थाका निमित्त सदस्य सचिव मदन गोपाल बानियाले बताए ।
संस्थाले होम स्टे संचालन गर्न ईच्छुक समुदायहरुलाई सम्भाब्यता अध्ययन, चेतनामुलक कार्यक्रम, दर्ता प्रोत्साहन, दर्ता पश्चात् विविध तालिम, प्रचार समाग्री निर्माण, जातिय संग्राहलय निर्माण सहित आर्थिक लगायतका सहयोग गर्ने गरेको उनले भने ।
सो कार्यक्रमबाट आफुहरुले पर्यटन, होम स्टे पर्यटन, होम स्टे संचालन तथा ब्यवस्थापन, अतिथी सत्कार, स्वस्थ र सरसफाईको बारेमा सिक्ने अवसर प्राप्त गरेको तपा गाउँका बुद्धिजीवी तथा समाजसेवि घनश्याम कठरियाले बताए ।
उनले भने ’हाम्रो बोलीभाषा, संस्कृति, संस्कार सबै अरु समुदाय भन्दा पृथक छ त्यसैले सोको संरक्षण, सम्बर्द्धनका लागि हामी गाउँलेहरु मिली होमस्टे बनाउने तयारी गरिरहेका छौं ।’
स्थानिय युवा घुम्मन कठरियाको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा दिब्य युवा क्लबका अध्यक्ष सर्रा कठरिया, समाजसेवि घनश्याम कठरिया लगायतकाले मन्तब्य राखेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय तारा गाउँ विकास समितिका कार्यक्रम संयोजक घनश्याम ढकाल र सन्दिप अधिकारीले होम स्टे (घरबास) संचालन र ब्यवस्थापन सम्बन्धि प्रशिक्षण गरेको कार्यक्रमको संचालन पत्रकार टीआर कठरियाले गरेका थिए ।
उक्त कार्यक्रममा कठरिया पोषाकमा सजिएका युवा, युवतीहरु लगायतको उत्साहजनक सहभागिता रहेको थियो ।
होम स्टे (घरबास) ब्यवस्थापन समिती गठन
कठरिया सामुदायिक होम स्टे (घरबास) संचालनका लागि तयारीमा जुटेका तपा गाउँका स्थानियहरुले नन्दराम कठरियाको अध्यक्षतामा ११ सदस्यीय होम स्टे ब्यवस्थापन समिती गठन गरेका छन् । जसको उपाध्यक्षमा घनश्याम कठरिया, सचिवमा घुम्मन कठरिया र कोषाध्यक्षमा मनोज महतौं कठरिया रहेका छन् ।
अन्य महिला सदस्यहरुमा रुपसना कठरिया, रुसिना कठरिया, रविना कठरिया, करिस्मा कठरिया, सदस्यहरुमा सर्रा कठरिया, उमेश कठरिया र दयानन्द कठरिया रहेका छन् ।
पहिलो कठरिया होम स्टे (घरबास)
कठरिया समाज नेपालका केन्द्रिय अध्यक्ष गया प्रसाद कठरियाले कैलाली जिल्लाको तपा कठरिया गाउँमा संचालनको तयारीमा रहेको कठरिया सामुदायिक होम स्टे सम्भवत् देशभरमै पहिलो कठरिया थारु होम स्टे हुने बताएका छन् ।
देशमा अन्य समुदायले विभिन्न खाले होम स्टे संचालन गरेको भएपनि कठरिया समुदायले भने हाल सम्म होम स्टे संचालन गर्न नसकेको उनको भनाई छ । उनले भने ‘म धेरै नै हर्षित छु, हाम्रो मौलिकतालाई देश, विदेशमा प्रचारप्रसार गर्ने जमर्को तपाबासीले गरेका छन् । यस कार्यमा सम्पुर्णले सघाउनु पर्छ ।’

