पहलमानपुर, ९ जेठ ।। स्थानीय तहकाे निर्वाचन २०७९ मा कठरिया थारु समुदायबाट न्युन संख्यामा जनप्रतिनिधि निर्वाचित भएका छन् । कैलाली जिल्लामा प्रमुख बासाेबास रहेकाे साे समुदायबाट २ जना उपप्रमुख र ४ जना वडा अध्यक्ष मात्रै निर्वाचित भएका छन् ।
जसमध्ये नागरिक उन्मुक्ति पार्टीबाट २ पालिका उपाध्यक्ष, १ वडा अध्यक्ष, नेपाली काँग्रेसबाट ३ वडा अध्यक्ष निर्वाचित भएका हुन् । तथ्यांकमा रेशम चाैधरी नेतृत्वकाे नागरिक उन्मुक्ति पार्टी कठरिया थारु समुदायमा सबैभन्दा ठुलाे बनेकाे छ भने दाेस्राे नेपाली काँग्रेस बनेकाे छ ।
निर्वाचित जनप्रतिनिधिहरु मध्ये नागरिक उन्मुक्ति पार्टीबाट जाेशीपुर गाउँपालिकाकाे उपाध्यक्षमा रेखा देवि कठरिया, जानकी गाउँपालिकाकाे उपाध्यक्षमा लालमति कठरिया र जानकी गाउँपालिका वडा नं. ४ काे वडा अध्यक्षमा दिपेन्द्र कुमार कठरिया रहेका छन् ।
यस्तै नेपाली काँग्रेसबाट वडा अध्यक्षहरुमा कैलारी गाउँपालिका वडा नं. ८ काे वडा अध्यक्षमा तारामल कठरिया, भजनी नगरपालिका वडा नं. ७ काे वडा अध्यक्षमा अमर बहादुर कठरिया, लम्कीचुहा नगरपालिका वडा नं. १० काे वडा अध्यक्षमा हर्क बहादुर कठरिया निर्वाचित भएका हुन् ।
अन्य प्रमुख राजनैतिक पार्टी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतको पार्टीहरुबाट कठरिया थारु समुदायका कुनै पनि उम्मेदवार राजनैतिक अवसर प्राप्त गर्न नसकेका हुन् ।
