पहलमानपुर, १८ बैशाख ।। कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ११ जवलपुरका स्थानियहरुले आगलागी पिडित विपतपुरबासीलाई सहयोग गर्न राहत संकलन गरिरहेका छन् । सो गाउँका स्थानियहरुले दैनिक उपभोग्य बस्तु, तरकारीका साथै नगद संकलन गरिरहेका हुन् ।
जिल्लाको कैलारी गाउँपालिका वडा नं. ७ स्थित विपतपुर मुक्त कमैया शिविरबासीमा आगलागी भएपश्चात सो गाउँका स्थानियहरुलाई विभिन्न खाले समस्या भैरहेको कारणले थोरै भएपनि राहत उपलब्ध गराउने उदेश्यले आफुहरुले धान, गहुं, चामल लगायतको खाद्यन्न, तरकारी सहित सक्दो आर्थिक संकलन गरिरहेको जवलपुरका युवा प्रबिन कठरियाले बताए ।
यस्तै जवलपुरका स्थानियहरु राहत संकलन गर्न गाउँका भल्मन्सा माकुराम चौधरीको संयोजकत्वमा ५ सदस्य राहत संकलन समिती चयन गरेका छन् । जसको सदस्यमा बलदेव बहादुर चौधरी, बिनोद चौधरी, लक्ष्मण चौधरी र बोट बहादुर चौधरी रहेका छन् । सो गाउँबाट संकलित राहत स्थानियहरुको सक्रियतामा पिडित विपतपुरबासीलाई सोमबार सम्ममा उपलब्ध गराईने बताईएको छ ।
वैशाख ११ गते दिउँसो खेतमा भएको गहुँको नालमा लगाइएको आगो बस्तीमा सल्किएपछि विपतपुर मुक्त कमैया शिविर खरानीमा परिणत भएको हो । ७१ घरधुरी रहेको बस्तीका स्थानीयको घरसँगै खाद्यन्न, गरगहना, लत्ताकपडा, मेसिनरी औजार, पशुचौपाया जलेका थिए ।
आगलागीले बस्तीका २७ घर पूर्णरुपमा जलेका छन् । १२ घर आंशिक रुपमा जलेका छन्, भने ३२ घरमा सामान्य क्षति भएको गाउँका भलमन्सा हिंगुराम चौधरीले जनाए ।

