धनगढी, ९ फाल्गुन/ यातायात व्यवस्था कार्यालय धनगढीमा दिनदाहडै चोरीको घटना सार्वजनिक भएको छ । सोमबार करिब २ बजेतिर सेवा लिन लाइनमा बसेका धनगढीका दीपक खत्रीको मोबाइल चोरी भएको हो ।
धनगढीको आलोक मन्टी कनर्सन प्रालीमा कार्यरत कर्मचारी खत्रीको मोबाइल लाइनबाटै चोरी भएको हो । मोटर साइकलको राजश्व बुझाउन लाइन लागेका वेला एक जना अन्जान युवकले खत्रीको पाइन्टको पकेटबाट मोबाइल चोरी गरिरहेको भिडिओ कार्यालयको सिसिटिभी क्यामेरामा कैद भएको हो ।
लाइनमा बसेका खत्रीले आफ्नो पकेटमा मोबाइल नभेटेपछि तत्कालै कार्यालय प्रमुखलाई जानकारी गराएका थिए । सोही अनुसार सिसिटिभी क्यामेरामा हेर्दा एक जना युवकले खत्रीको पकेटबाट मोबाइल झिकेको दृश्य प्रस्ट देखिएको थियो ।
ती युवकलाई सिसिटिभी क्यामेराको मद्दतले चिन्न सकिएको थियो । ती युवक कैलालीको चौमाला घर भएका लालबहादुर रहेका छन् । तत्कालै खत्रीले ती युवालाई समातेर मोबाइल फिर्ता गराउन लगाएका थिए । तर ती युवकले भने खसेको मोबाइल समातेको जिकिर गरेका थिए ।

