सुदूरपश्चिम महोत्सव माघ १८ गते देखी
धनगढी, १९ पौष ।। सुदूरपश्चिम महोत्सव माघ १८ गते देखि आयोजना हुने भएको छ । कोरोनाका कारण दुई वर्षदेखि स्थगित सुदूरपश्चिम महोत्सव माघ १८ गतेदेखि २९ गतेसम्म आयोजना हुने भएको हो । यस वर्ष धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दक्षिणकाली मार्गमा महोत्सव हुने कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
सुदूरपश्चिम महोत्सवको १५ औँ संस्करणमा वृहत् व्यवसायीक कृषि प्रदर्शनी तथा प्रतियोगिता ताजा तरकारी र कृषिमा आएको प्रविधि सँगै माछा, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदी व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिइने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर राज कुँवरले जानकारी दिए ।
यस सुदुरपश्चिम महोत्सव २०७८ मा कृषि, जडिवुटी, हस्तकला फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सुचना प्रविधि गरि चार सय भन्दा बढीको संख्याको स्टलहरुको सहभागीता रहने उनले बताए । महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने छ । भने यस वर्षको महोत्सवमा करिब ४ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको सङ्घका अध्यक्ष कुँवरले जानकारी दिए ।
सुदुरपश्चिमवासीले गर्वका साथ पर्वको रुपमा मान्दै आएको सुदुरपश्चिम महोत्सव व्यापार व्यवसायको जगतमा उत्कृष्ट र अनुपम नमुनाको रुपमा रहने छ भन्ने विश्वास लिइएको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न मुल समितिसहित २१ उप समिति रहने आयोजकले जनाएको छ ।
हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव विगत दुई वर्षदेखि कोभिड-१९ का कारण हुन सकेको थिएन ।
