अर्जुन दासका ‘हत्यारा’ हायस चढेर धनगढी आए, गौरिफन्टा हुँदै दिल्ली पुगे
धनगढी, ६ पुस । कैलाली प्रहरीले जानकी गाउँपालिका–९ का २५ बर्षीय युवा अर्जुन दासको हत्यामा संलग्न भएकाहरुको खोजी तिब्र पारेको छ । हत्यामा ५ जना युवा सहभागी भएको हुनसक्ने आँकलन गरी प्रहरी उनीहरुको खोजीमा जुटेको हो । ती युवा दिल्लीमा देखिएको र पक्राउका लागि कैलाली प्रहरी त्यहाँ पुगिसकेको स्रोतले जानकारी दिएको छ ।
हत्यामा आफूहरुको संलग्नता रहेको भन्दै एकजना युवाले मृतकका छिमेकीलाई गरेको फोन संबाद घटना लगत्तै बाहिरिएको थियो । फोनमा हत्याको जिम्मेवारी लिने युवाको प्रहरीले पहिचान गरिसकेको छ ।
‘फोन गर्ने व्यक्तिले आफूहरु नेपालगन्जको रुपैडिहा नाकामा भएको र बेङलोर जान लागेको बताएका थिए,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘त्यो हामीलाई झुक्याउन योजनाबद्ध ढंगले भनिएको पत्ता लागेको छ । उनीहरु धनगढीकै मोहना–गौरिफन्टा नाका भएर त्यही दिन भारत छिरेको तथ्य पत्ता लागेको हो ।’
जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा शुक्रवार दासको शरिरबाट टाउँको छिनालिएको अवस्थामा शव फेला परेको थियो । दासकै साथी भएको बताउदै एकजना युवाले आफूलगायतका केहीले हत्या गरेको आशयको कुरा गरेको फोन कल रेकर्ड बाहिरिएपछि प्रहरीले यसैमा केन्द्रीत भएर घटना अनुसन्धान अगाडी बढाएको थियो ।
फोन गर्ने व्यक्तिले आफू रुपैडिहा पुगिसकेको बताएका थिए । तर, हत्यामा संलग्न युवाहरु हायस गाडी चढेर धनगढी आएको र यसै नाकाबाट भारत छिरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ ।
‘उनीहरु बाटोमा आफूहरुले कसैको हत्या गरेको बताउदै आएका रहेछन,’ प्रहरी स्रोतले भन्यो, ‘अन्य यात्रुहरुले भर्खरैको उमेरका केटाहरुले फूर्ती लगाएको ठानेर त्यसलाई गम्भीरतापूर्वक नलिएको पाइएको छ ।’
घटना थाहाँ पाएपछि त्यो हाइस गाडीमा भएका यात्रुहरुले प्रहरीलाई यसबारे जानकारी गराएका हुन् । फोन कल रेर्कड सार्बजनिक गर्ने एकजनालाई प्रहरीले आइतवार नियन्त्रणमा लिएको थियो ।
उनैको बयानका आधारमा घटनामा ५ जना युवाको संलग्नता रहेको हुनसक्ने आँकलन प्रहरीले गरेको हो । ती मध्ये दुईजना युवाका आमाबुवा दिल्लीमा बस्छन । ती सबै युवा दिल्लीमा पुगेपछि आफन्तलगायतले उनीहरुलाई घेर्ने प्रयास गरेको तर उनीहरु फुत्किएको प्रहरीले जनायो । ‘कैलाली प्रहरी दिल्ली पुगिसकेको छ । चाडै उनीहरु पक्राउ पर्छन,’ स्रोतले भन्यो ।
यो घटना लागूऔषधसँग जोडिएको हुनसक्ने पक्कापक्कीमा प्रहरी पुगेको छ । नाइट्रोभेट ट्याब्लेट नामक औषधी, जो लागूऔषधका रुपमा प्रयोग गरिन्छ ।
त्यो हराएको वा चोरिएकोबारेमा उनीहरुका बीचमा बादबिबाद भएको देखिएको प्रहरी स्रोतले बतायो । जिल्ला प्रहरी कार्यालय कैलालीले भने घटनाका बारेमा थप जानकारी मिडियालाई दिएको छैन् ।
