पहलमानपुर, १० चैत ।। कैलालीकाे कैलारी गाउँपालिका वडा नं. ८ स्थित खैरेनी टाेलका ८ बर्षिय बालक राम समझ चाैधरीकाे जन्मदर्ता हालै वडा कार्यालयमा दर्ता भयाे । बालक चाैधरीका अभिभावकहरुकाे चेतना आभावका कारणले हाल सम्म उनकाे जन्मदर्ता हुन सकेकाे थिएन् ।
वडा कार्यालय र वर्ल्डभिजन इन्टरनेशनल नेपाल बाल कल्याण संघ टीकापुरकाे साझेदारीमा संचालित बाल संरक्षण तथा सामुदायिक सहभागीता परियाेजना अन्तरगत साे वडामा रहेका घट्ना ब्यवस्थापक कार्यकर्ताकाे सक्रियतामा उनकाे जन्मदर्ता भएकाे हाे । वालक चाैधरी मात्रै हैन् वडामा रहेका विभिन्न किसिमका जाेखिममा परेका वालवालिकाहरुलाई निरन्तर रुपमा घटना ब्यवस्थापक कार्यकर्ताले सघाउँदै आएका छन् ।
यस बर्ष मात्रै ११ जना वालवालिकाहरुकाे जन्मदर्ता गराईएकाे छ । ‘हामीले वडामा रहेका अपाङ्ग, असाह्य र विपन्न परिवारका अतिजाेखिममा परेका वालवालिकाहरुकाे तथ्यांक पत्ता लगाई स्थानीय सरकारकाे सहकार्यमा उनिहरुलाई आवश्यक सहयाेग गर्दै आएका छाैं घटना ब्यवस्थापक कार्यकर्ता महदुईया कठरियाले बताईन् ।’ हाल सम्म गरि वडाका जन्मदर्ता नभएका ३५ जना वालवालिकाहरुकाे जन्मदर्ता गराईएकाे र अन्यलाई संघसंस्था तथा स्थानीय सरकारकाे सक्रियतामा खाद्यान्न र शैक्षिक सामाग्री वितरण लगायतकाे सहयाेग गरिएकाे उनकाे भनाई छ ।
यस्तै कैलारी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष तारामल कठरियाले वर्ल्डभिजन इन्टरनेशनल नेपाल र बाल कल्याण संघ टीकापुर द्वारा संचालित बाल संरक्षण तथा सामुदायिक सहभागीता परियाेजनाले वडामा रहेका जाेखिममा रहेका वालवालिकाहरुलाई प्रत्यक्ष सहयाेग पुगेकाे बताए । गरिबी, अशिक्षाका कारण कतिपय वालवालिकाहरु अधिकारबाट बन्चित रहेकाे बर्तमान परिस्थितिमा परियाेजनाले ठुलाे मदत गरेकाे उनले बताए ।