पहलमानपुर, ८ माघ ।। कैलाली जिल्लाकाे घाेडाघाेडी नगरपालिका वडा नं. ११ स्थित सिसैया गाउँ (पुर्व टोल) काे भुराखेल आज सम्पन्न भएकाे छ । साे गाउँकाे आज भएकाे भुराखेलबाट भल्मन्सामा गया प्रसाद कठरिया, गाउँ सचिवमा जगदम्बिका प्रसाद कठरिया र चाैकिदारमा राम बिलास कठरिया चयन भएका छन् ।
पुरानो नेतृत्वहरुले समग्रमा गाउँको हितमा कार्य सम्पादन गरेकाले पुरानै नेतृत्वहरुलाई दोस्रो कार्यकालका लागि दोहोर्याएको सो गाउँका युवा सत्य नारायण कठरियाले बताए । हामीले गाउँको भल्मन्सा र चौकीदार पुरानै चयन गरेका छौं र गाउँ सचिव सम्पुर्ण गाउँहरुको सरसल्लाह अनुसार नयाँ चयन गरेका छौं उनले भने । यस्तै गाउँको भेलाले भर्रा (गुरुवा), किसौका (सहायक गुरुवा) अर्को बैठकमा चयन गरिने निर्णय गरेको छ ।
थारु समुदायले माघे संक्रान्ति अर्थात माघी पर्वलाई आफ्नै माैलिक परम्परा अनुसार मनाउने गर्दछन् । याे पर्वलाई नयाँ वर्षकाे रुपमा मनाउने साे समुदायले यसै बखत हरहिसाव र नेतृत्व समेत फेरवदल गर्ने गर्दछन् । साेहि नयाँ नेतृत्व चयन, नविकरण प्रक्रियालाई नै भुराखेल भन्ने गरिन्छ । जुन माघ महिना भरि नै चल्ने गर्दछ ।