पहलमानपुर, १० मंसिर ।। कैलालीकाे घोडाघोडीमा घाेरीघाेरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव शनिबार देखि सुरु भएको छ । महोत्सवको कैलाली क्षेत्र नम्बर ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गङ्गाराम चौधरीले उद्घाटन गरेका छन्।
घोडाघोडी नगरपालिका –१ स्थित घोडाघोडी मन्दिर परिसरमा घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा सुरु भएको सो महोत्सव सोमबारसम्म सञ्चालन हुने आयोजकले बताएको छ ।
घोडाघोडी तथा संस्कृति संरक्षण समाजका अध्यक्ष चन्द्र चौधरीको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिकाका ८२ गाउँका भलभन्सा तथा स्थानीयको सहभागिता थियो ।
घोडाघोडी नगर भल्मन्सा समाजका अध्यक्ष बुधराम चौधरीले थारु समुदायले घोडाघोडीमा लवाङ्गीपूजा परापूर्वकालदेखि मनाइँदै आएको बताए । यो पर्वमा विशेषगरी थारु समुदायहरूले नयाँ बाली भित्र्याइसकेपछि सो अन्नबालीलाई प्रसादको रूपमा आफ्ना देवी देवतालाई चढाइने भएकाले पनि ल्वाङ्गीपूजाको महत्त्व रहेको अध्यक्ष चौधरीले बताए ।
उद्घाटन कार्यक्रममा नवनिर्वाचित प्रदेश सभासदस्य खुशीराम चौधरी, नगरप्रमुख खडक रावत, उपप्रमुख गुलियादेवी डगौरा, वडाध्यक्षहरु लगायत सामाजिक संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गङ्गाराम चौधरीले थारुको पहिचान परम्परा भेषभूषा र रीतिरिवाजमा रहेकाले सो कुरा जोगाइ राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट ल्याइएका थारु संस्कृति भल्काउने झाँकी, परम्परागत नाच प्रदर्शन गरिएको थियो । दुई दिनसम्म चल्ने सो महोत्सवमा थारु झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै थारु समुदायको भेषभूषा झल्काउने विभिन्न नाच प्रस्तुत हुने आयोजकले जनाएको छ ।