पहलमानपुर, २६ असोज ।। बिहान करिब ७ बजेको समय थियो । कैलालीको कैलारी गाउँपालिका वडा नं. २ उत्तर मझराका मिश्री प्रसाद कठरियालाई फोन आयो । उनले फोन उठाए त्यसपश्चात फोनमा आवाज सुनियो ‘मिश्री भैया तुँ आपन टिकट लेहे पार्टी कार्यालय जाउ ?’ (मिश्री भाई तिमी आफ्नो टिकट लिन पार्टी कार्यालय जाउ ?)
यो फोन गर्ने अरु कोहि नभएर कारागारबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरी थिए । उनको मुखबाट त्यति सुनेपछि मिश्री प्रफुल्लीत भए साथीहरुलाई लिएर अटोमा तुरुन्तै पार्टी कार्यालय टीकापुर तिर दौडिए । समय १ः३० बजे तिरको थियो मिश्री कठरिया टीकापुर पुगे । निरन्तर पानी परिरहेको थियो । त्यहाँ पुगेर उनले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई फोन गरे । उनले आफु बाहिर भएको साथै टिकट पार्टी प्रबक्ता दामोदर पण्डित सँग भएको र लिएर जान आग्रह गरिन् । त्यसपश्चात उनि प्रबक्ता पण्डित सँग टिकट लिए । उनलाई प्रवक्ताले चियाका लागि अनुरोध गरे ।
पानी अझै परिरहेको थियो तर सोहि दिन ५ बजे सम्म मनोनयन दर्ताको समय भएकाले उनि चिया नखाई हतार हतार कैलाली क्षेत्र नं. ३ को निर्वाचन आयोगको कार्यालय सुखड तर्फ लागे । उनि सुखड लगभग ४ः ३० बजे पुगे र निर्वाचन आयोगमा पार्टीले दिएको सिफारिस पत्रको साथमा अन्य आवश्यक कागजातहरु बुझाएर कैलाली क्षेत्र नं. ३ क को प्रदेश सदस्यको उम्मेदवारमा नाम दर्ता गराए ।
त्यसपश्चात उनि आफ्ना समर्थकहरु सँगै घर फर्किए । पार्टीका कार्यकर्ता उनका समर्थक, इष्टमित्र, आफन्तहरु हर्षित भए । उनलाई सामाजिक संजाल, फोन, प्रत्यक्ष रुपमा शुभकामना दिनेहरुको ओइरो लाग्यो । उनि सबैलाई धन्यवाद दिंदै साथ, सहयोग र सहकार्यको अपेक्षा गरे । त्यो दिन बित्यो ।
अर्को दिन लगभग ११ बजेको समयमा निर्वाचन अधिकृत लक्ष्मी दहालले फोन गरेर भने ‘तपाईंहरुले एउटै पार्टीबाट एउटै पदमा दुई जनाले उम्मेदवारी दिनु भएको छ । तपाईं अफिसमा आउनुस् है ।’ निर्वाचन अधिकृतले यति भनेपछि म आश्चार्य, चकित भएँ, पार्टीले त मलाई टिकट दिएको छ । सोहि प्रमाण सहित उम्मेदवारी दर्ता गराएको हुँ अनि अरु कसले र कसरी उम्मेदवारी दियो ।’ मिश्री प्रसाद कठरियाले भने ।
म निर्वाचन आयोगको कार्यालय गएँ । त्यहाँ पुग्दा थाहा भयो कि भजनी नगरपालिका वडा नं ४ धनौराका घनश्याम चौधरीले समेत प्रदेश क मा उम्मेदवारी दिएका छन् । अनि मैले उनले पेश गरेको डकुमेन्ट हेरें उनले पनि पार्टीको टिकट ल्याएका रहेछन्, प्रक्रिया पुर्याएका रहेका छन् । त्यसपश्चात मात्रै मलाई थाहा भयो कि पार्टीले हामी दुई जनालाई टिकट दिएको रहेको छ उनले भने ।
यसरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले दिएको प्रदेश सभा सदस्यको टिकट कार्यकर्ताले खोसेका छन् । चौधरीले कैलाली क्षेत्र नं. ३ क मा मिश्री प्रसाद कठरियालाई टिकट दिएका थिए तर त्यसलाई उनकै पार्टीका कार्यकर्ताले उल्ट्याउँदै अर्कैलाई टिकट दिएका छन् । रेशम चौधरी रिहाई प्रमुख एजेन्डा बोकेर राजनिती गरिरहेको सो पार्टीमा उनकै आदेशलाई व्यवास्ता गरेकाले धेरै कार्यकर्ताहरुमा नैराश्यता बढ्को छ । केहिले असन्तुष्टि ब्यक्त गर्दै पार्टी परित्याग गरिसकेका छन् । केहि सो पार्टीको बागी उम्मेवारको रुपमा चुनावी मैदानमा छन् ।
यस्तै नागरिक उन्मुक्ति पार्टीले दोहोरो चरित्र देखाएको र आफु जस्ता सिधा, साधा, ईमानदार कार्यकर्ताको चरित्र हत्या गर्ने कार्य गरेको भन्दै टिकट वितरण काण्डमा पिडित कैलारी गाउँपालिका संयोजक समेत रहेका मिश्री प्रसाद कठरियाले पार्टीको जिम्मेवारीबाट राजिनामा दिएका छन् । उनि सँगै सोहि पालिकाको सचिव मनोज चौधरीले पार्टी परित्याग गरेका छन् । उनीहरु सामाजिक संजाल (फेसबुक) मार्फत स्वघोषणा गरेका हुन् ।