कैलाली, २२ भदाैं ।। कैलालीमा थप ५ जनामा डेँगु फेला परेका छ । टीकापुर अस्पतालमा थप पाँच जनामा डेँगु देखिएको र यो संख्या पछिल्लो एकसातामा मात्रै थपिएको हो । डेँगुका बिरामीमा चार जना टीकापुर नगरपालिका र एकजना लम्कीचुहा नगरपालिकाका रहेका छन् । उनीहरुको उपचार भैरहेको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए ।
यसअघि टीकापुर अस्पतालमा नौ जनामा डेँगु देखिएको थियो । यो संख्या साउन १ गतेदेखी भदौ १६ गतेसम्मको हो । नौजना मध्ये टीकापुर नगरपालिकाका ३ जना, जोशीपुर गाउँपालिकाका २ जना र जानकी गाउँपालिकाका ४ जना रहेका छन । उनीहरु मध्ये धेरैजसो उपचार पछि घर फर्किएको शाखा प्रमुख रावलले जानकारी दिए ।
उनीहरुमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महशुस हुने लगायतका लक्षण देखिएका थिए । यो रोग एडिस जातको लामखुट्टेले मानिसमा सार्ने गर्छ । यसले सफा पानीमा फूल पार्ने र त्यहीबाट मानिसमा सार्ने गर्छ । लार्भाका स्रोतहरु पानी जमेका डब्बाहरु, प्लाष्टिकका बोत्तल, प्लाष्टिकका खोल, टायर, सिसी, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, कुलर, पानीका ट्याङ्की हुन ।
