कैलाली, २४ श्रावण ।। टीकापुरमा छाडा चौपायाको गोबरबाट दुई सय घनमिटरको गोबर ग्यास प्लान्ट निर्माण गरिएको छ । टीकापुर नगरपालिका–२ स्थित खोटेना भुराखानी सामुदायिक वनमा राखिएका चौपायाको गोबरबाट गोबर ग्यास प्लान्ट निर्माण गरिएको हो । नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापन गरी गोबर ग्यास प्लान्ट स्थापना गरिएको हो ।
एक करोड ६० लाखको लागतमा प्लान्ट निर्माण गरिएको जनाइएको छ । प्लान्टमा ३५ प्रतिशत टीकापुर नगरपालिका र ६५ प्रतिशत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको लगानी भएको जनाइएको छ ।
गोबर ग्यास प्लान्टबाट उत्पादन भएको ग्यास पाइपमार्फत नजिकैको सीतापुर बस्तीका ५५ घरमा पु–याएर मिटरसहित चुल्हा जडान भइसकेका छन् ।
गौशालामा करिब एक हजार गाईगोरु रहेका छन् । तीमध्ये तीन सय जति गाई टहरामा राखिएका छन् । टहरामा राखिएका गाई र बाच्छाबाच्छीको सफा गोबर हरेक बिहान प्लान्टमा हाल्ने गरिएको छ ।