Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

तीन तहका सरकारबीच तालमेल नमिल्दा सङ्घीयता कार्यान्वयनमा समस्या: मुख्यमन्त्री भट्ट

0 34

कैलाली, १० श्रावण ।। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले तीन तहका सरकारबीच समन्वयात्मक तालमेल नमिल्दा सङ्घीयता कार्यान्वयन नभएको बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले मंगलबार धनगढीमा आयोजना गरेको संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र स्थापित संस्थागत संयन्त्रहरुको क्रियाशिलता सम्बन्धि प्रदेशस्तरीय कार्यक्रममा उनले सो धारणा राख्नुभएको हो ।

जनअपेक्षानुसार काम हुन नसकेका कारण सङ्घीयताप्रति जनता सन्तुष्ट हुन नसकेको उनले बताए । हामीभन्दा पहिलेदेखि नै सङ्घीयता भएका भारतलगायतका देशसँग नेपाललाई दाँजेर असन्तुष्ट हुनुको कुनै अर्थ नभएको भन्नुहुँदै उनले सबै तहका सरकारले आ–आफ्नो दायित्व बहन गरेर कार्यान्वयनमा जानुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश आर्थिक मामिलामन्त्री प्रकाश रावलले बजेट ल्याउने तरिका नमिलेको बताए । स्थानीय समस्यालाई सम्बोधन गर्नेगरी पहिले स्थानीय तहले नै बजेट प्रस्तुत गर्नुपर्ने, मझौला खालका योजना प्रदेश र ठूला योजनाहरु सङ्घीय सरकारमा सिफारिस गर्न पाए बजेटमा योजनाहरु नदोहरिने बताए ।

यस्तै, पूर्वसामाजिक विकासमन्त्री एवं प्रदेश सभासद लालबहादुर खड्काले तीन तहका सरकारबीच संविधानतः सम्बन्ध हुनुपर्नेमा सङ्घीय सरकार प्रमुखको राजनीतिक ईच्छाशक्तिले काम गरिरहेको बताए । अर्का प्रदेश सभासद भरत खड्काले सुदूरपश्चिम सरकारको कार्यशैलीले जनतामा सङ्घीयताप्रति वितृष्णा बढेको दाबी गर्नुभयो ।

संसारकै उत्कृष्ट व्यवस्था मानिएको सङ्घीयतामा छोटो समयमै जनता असन्तुष्ट हुनुमा राज्य सञ्चालकहरु नै बढी जिम्मेवार रहेको उनको भनाइ छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुले सङ्घीय सरकारले स्थानीय तहलाई पूर्ण स्वायतता दिनुपर्ने र प्रदेश तह समन्वयात्मक मात्रै हुनुपर्ने बताएका थिए । संविधानविद् खिमलाल देवकोटा र पूर्वराष्ट्रसेवक विष्णुदत्त गौतमले सो कार्यक्रममा सहजिकरण गरेका थिए ।

टिप्पणीहरू
Loading...