बाजुरा, ३ असार ।। बाजुराको पूर्वी उत्तरी भेगमा कालाजारका बिरामी भेटिन थालेका छन् । उत्तरी क्षेत्रका चार स्थानीय तहमा कालाजारका बिरामी भेटिने गरेको बूढीनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बताएका छन् ।
उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका लागि ल्याएका स्वामिकार्तिक खापर गाउँपालिका–३ बस्ने २ वर्षका बालकमा कालाजार देखा परेको छ । कालाजार देखिएपछि थप उपचारका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

ती बालकको परीक्षण गर्दा कालाजार देखिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए । कालाजार देखिएका बालकलाई जिल्ला अस्पताल बाजुराले थप उपचारका लागि धनगढी पठाएको छ । कालाजारको जिल्लामा उपचार हुन्थ्यो तर औषधि नहुँदा धनगढी रिफर गरेको अस्पतालका सूचना अधिकारी गिरीले बताए ।
जिल्लामा दुई वर्षयता १३ जनाको जाच गर्दा कालाजार भेटिएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा १२ र एक जिल्ला अस्पताल बाजुरामा गरी १३ जनामा कालाजार भेटिएको छ । कालाजार कर्णाली नदीसँगै जाडिएको स्वामिकार्तिक खापर, जगन्नाथ, हिमाली गाउँपालिका र बूढीनन्दा नगरपालिकामा देखिने गरेको छ ।

कालाजारको उपचार जिल्लामा हुने भने पनि कहिले औषधि नहुने समस्याले नेपालगञ्ज, धनगढी, सुर्खेत जानुपर्ने बाध्यता रहेको छ । तराईमा देखिने यो रोग पछिल्लो समयमा पहाडतिर पनि देखिन थालेको छ । यो भुसुनाको टोकाइबाट हुने र सर्ने रोग हो ।
