टिआर कठरिया, २४ फागुन ।। कैलालीमा प्रमुख बासोबास रहेको कठरिया थारु समुदायको बस्तीमा अचेल होरी नाचको रौनक जताततै देख्न पाईन्छ । फागु पुर्णिमा अर्थात होली नजिकिए पर्व सँगै सो समुदायमा होरी नाचको रौनक देखिएको हो ।
कठरिया थारु समुदायले होलीलाई आठ दिन सम्म आफ्नै परम्परा अनुसार मनाउने गर्दछन् साथै होलीमा यस समुदायले होरी नाच नाच्ने गर्दछन् । सोहि होरी नाचको तयारीमा कठरिया समुदाय अचेल जुटेकाले माहुल होरीमय भएको रामगोपाल कठरियाले बताए । उनले भने हामी हरेक दिन साँझपख गाउँको भल्मन्साको घरमा भेला भई सामुहिक रुपमा होरीको तयारी गरिरहेका छौं ।
आफ्नो छुट्टै प्राचीन इतिहास, मौलिक संस्कार, संस्कृति, रितिरिवाज, चालचलन, भाषा भएको कठरिया थारू समुदायले अन्य चाडपर्व भन्दा होलीलाई विशेष महत्वका साथ मनाउने गर्दछन् ।
हाल होली नजिकिएको भन्दै कठरिया समुदायले होरी नाच्न सिक्ने, ढोल (होरी नाच नाच्ने बेला बजाईने एक प्रकारको बाजा) बनाउने, नाघा, अंगिया (कठरिया महिलाहरुले लगाउने शोषक) बनाउने, नव बिवाहित छोरीचेलिहरुलाई फगुई (होली) मनाउन लिन जाने लगायतको तयारी गरिरहेका छन् ।