Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घोडाघोडी सिमसार देशकै पहिलो बर्ड सेन्चुरी बन्दै

0 77

धनगढी,२४ फागुन ।कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) बनाउन लागिएको छ ।घोडाघोडी नगरपालिका मातहतको बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले घोडाघोडी तालसहितको घोडाघोडी सिमसार क्षेत्रलाई बर्ड सेन्चुरी बनाउन लागेको हो ।

फागुन २७ गते घोडाघोडी ताल क्षेत्रमा एक कार्यक्रमको आयोजना गरी बर्ड सेन्चुरी घोषणा गर्ने तयारी छ । चराको संरक्षण र पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले बर्ड सेन्चुरी घोषणा गर्न लागिएको बोर्डका कार्यकारी उपाध्यक्ष डीआर चौधरीले बताए । उनले बर्ड सेन्चुरी घोषणाका लागि सबै तयारी भइसकेको जनाएका छन् ।

‘फाुगन २७ गते घोडाघोडी ताल परिसरमा एक समारोहकाबीच बर्ड सेन्चुरी घोषणाको तयारी गरेका छौं’, उनले भने । ‘यो नेपालकै पहिलो बर्ड सेन्चुरी हुनेछ ।’ 

हाम्रो देशमा अहिलेसम्म एउटा पनि बर्डं सेन्चुरी छैन । प्रदेश सरकारको कानूनलाई टेकेर बर्ड सेन्चुरी घोषणा गर्न लागिएको कार्यकारी उपाध्यक्ष चौधरीले बताए । ‘बर्ड सेन्चुरी घोषणापछि मुख्य दायित्व पनि प्रदेश सरकारकै हुनेछ’, उनले भने ।

विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसारमा ३६० प्रजातिको चराचुरुङ्गी पाइने गरेका छन् । यो सिमसारमा साइबेरिया, मङ्गोलिया लगायत विभिन्न ठाउँबाट हिउँदे आगन्तुक चरा पनि आउने गरेका छन् । यहाँ पाइने चरामध्ये ६४ प्रजातिका जलपक्षी रहेका छन् । यसैगरी, १२ प्रजातिका विश्वमै दुर्लभ चरा पनि घोडाघोडी सिमसारमा पाइन्छन् । कैले टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसेफिस्टो, लघु महाचिल लगायतका विश्वमै दुर्लभ चरा यो सिमसारमा पाइने गरेका छन् ।

विभिन्न प्रजातिका चरा पाइने घोडाघोडी सिमसारलाई बर्ड सेन्चुरी बनाइएपछि चरा र उनीहरुको बासस्थान संरक्षणमा थप टेवा पुग्ने चौधरीले विश्वास व्यक्त गरे । ‘बर्ड सेन्चुरी घोषणापछि संरक्षण सम्बन्धी गतिविधि बढी हुनेछ’, उनले भने ।

प्रसिद्ध घोडाघोडीसहित ठूलासाना २४ वटा ताल रहेको घोडाघोडी सिमसार क्षेत्र १० हजार ५७० हेक्टर क्षेत्रफलमा फैलिएको छ । तर, चरा अभय आरण्य क्षेत्र करिब छ हजार भन्दा बढी हेक्टर क्षेत्रफललाई समेटेर बनाइदैछ । जसमध्ये घोडाघोडी ताल प्रमुख रहेको छ । चरा अभय आरण्य क्षेत्र भनेको भयरहीत वातावरणमा चराले स्वतन्त्रपूर्वक आहारविहार गर्न पाउने क्षेत्र भन्ने बुझिन्छ । चरा अभय आरण्य क्षेत्र घोषणा भए पनि राष्ट्रिय निकुञ्जको जस्तो कडाइ हुँदैन ।

मान्छेले बर्ड सेन्चुरी घोषित क्षेत्रमा जान पाउने तर, चराको संसारलाई हस्तक्षेप गर्न नपाइने जनाइएको छ । घोडाघोडी सिमसारमा रैथाने प्रजातिका सङ्ख्याको साथै चरा प्रजाति सङ्ख्या बढ्दै गएको छ । यसैगरी, अन्यत्र बासस्थान नपाएका चरा यहाँ आउने गरेका छन् । मङ्गोलियन र साइबेरियन चराको लागि नेपालको चार रुटमध्ये घोडाघोडी सिमसार पनि एउटा रुट हो । जाडो छल्नका लाथि त्यहाँबाट चराहरु यहाँ आउने गर्दछन् । घोडाघोडी ताललाई अलिकति व्यवस्थित बनाए पाहुना चरा अझ बढी आउने संरक्षणकर्मी हिरुलाल डङ्गौराको विश्वास छ । उनले बर्ड सेन्चुरी घोषणापछि चरा संरक्षणमा थप टेवा पुग्ने बताउँछन् । 

घोडाघोडी सिमसारमा सबैभन्दा बढी संख्यामा हरिहाँस पाइन्छन् । हरिहाँस यो सिमसारको सूचक प्रजाति हो । यसैगरी, भारतको केरलामा पाइने नादुन हाँसले सन २०१४ देखि घोडाघोडीमा पनि ‘ब्रिडीङ’ गर्दै आएका छन् । पहिले पाहुना चराको रुपमा केरलाबाट घोडाघोडी पुग्ने नादुल हाँस अब यहाँको रैथाने भइसकेका छन् ।

मानवीय हस्तक्षेपका कारण घोडाघोडी सिमसारमा चराको प्राकृतिक बासस्थान बिगिँ्रदो क्रममा रहेको छ । प्रसिद्ध घोडाघोडी ताल क्षेत्र वरिपरि प्लाष्टिकजन्य वस्तु फाल्नेसहित फोहोरमैला गर्ने कार्य बढ्दो छ । बर्ड सेन्चुरी बनाइएमा घोडाघोडी क्षेत्रमा भइरहेको प्रदुषण कम हुने विश्वास संरक्षणकर्मीको छ । 

बर्ड सेङचुरी बनेपछि चरालाई पहिलो प्राथमिकतामा राखेर वनजङ्गल, सिमसार, जलाधार क्षेत्रको संरक्षण हुने कार्यकारी उपाध्यक्ष चौधरीले बताए । ‘संरक्षण र पर्यापर्यटनलाई संगसंगै अगाडि बढाउने उद्देश्यका साथ यो गौरवको विषय अगाडि बढाइएको हो, उनले भने ‘बर्ड सेन्चुरी यस प्रदेशको एउटा ब्राण्ड नै हुनेछ ।’ 

प्राकृतिक सुन्दर दृश्यले भरिपूर्ण घोडाघोडी चरा अवलोकनसहित पद्यात्रा गर्नका लागि निकै महत्वपूर्ण सिमसार हो । चरा पर्यटनको सम्भावनालाई नै मध्यनजर गरेर सो नगरपालिकाको वडा नम्बर ३ स्थित माघीमा थारु होमस्टे पनि सञ्चालनमा रहेको छ । यद्यपि, चरा पर्यटन फष्टाउन नसकेका कारण होमस्टे पनि खासै चलेको छैन । बर्ड सेन्चुरी घोषणाले पर्यटन व्यवसाय फष्टाउने स्थानीयको अपेक्षा छ ।

घोडाघोडी सिमसारमा पाइने चराहरुको प्रचारप्रसार गर्ने उद्देश्यका साथ केही महिना अगाडि घोडाघोडीमै चरा फोटो खिच्ने प्रतियोगिता पनि आयोजना गरिएको थियो । सो प्रतियोगितामा फोटोग्राफर सुगम ताम्राकार प्रथम, भूमिदत्त तिवारी दोस्रो र दृष्टान्त बिडारीले तेस्रो स्थान प्राप्त गरेका छन् । उनीहरुलाई बर्ड सेन्चुरी घोषणा समारोहमा पुरस्कृत गरिने जनाइएको छ । पश्चिम टुडे डटकमबाट

टिप्पणीहरू
Loading...