Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

फेरियो थारू समुदायमा बिहेको चलन

0 313

गणेश चौधरी ,टीकापुर, माघ २६ ।। अहिले विवाहको सिजन छ । सबैले आफ्नो परम्पराअनुसार विवाह गरिरहेका छन् । थारू समुदायको छुट्टै वैवाहिक परम्परा पछिल्लो समय बदलिँदै गएको छ । ‘थारूको पुरानो विवाह परम्परा त करिब सकिसकेको छ,’ कैलाली जोशीपुर-३ मनकापुरका वीरबहादुर चौधरीले भने, ‘थारू दुलहाको टाउकोमा सेतो पगिया, जीउमा सेतो जामा, कम्मरमा सुरुवाल हुन्थ्यो तर पछिल्लो चरणमा यस्ता पोसाकको ठाउँमा सर्ट, कोट, पाइन्ट वा सुटले स्थान लिइसकेको छ ।’

थारूको विवाहमा अहिलेको जस्तो हिन्दी वा नेपाली गीत बजाउने चलन थिएन । थारूहरूको विवाहमा गाइने गीत मागर हो । विवाहको समय र सन्दर्भअनुसार मागर फरक फरक छ । वीरबहादुरका अनुसार डिउली डर्ना मागर, दुलहालाई पोसाक लगाइदिँदाको मागर, जन्ती निस्कने बेलाको मागर, दुलहीको घर पुगेपछि गाउने मागर गीत छुट्टाछुट्टै हुन्छ । तर युवा पुस्तामा यो गीत हस्तान्तरण हुन सकेको छैन ।

थारूहरूले दुलहा बोक्न आकर्षक चण्डोल बनाएका हुन्छन् । दुलहालाई चण्डोलमा राखी उनीहरूलाई बोकेर लगिन्छ । बाँकी जन्ती भने गाडामा जान्थे तर आजभोलि ट्र्याक्टर, बस, जिपमा जन्ती जान थालिएको छ । दुलहाका लागि बस्न बनाइएको चण्डोल ४ जनाले बोक्न मिल्ने बनाइएको हुन्छ । दुलहीका लागि बस्ने डोली २ जनाले मात्र बोक्न मिल्ने हुन्छ । दुलहीका लागि डोली बनाउन २२ हात कपडा पनि दुलहा पक्षकाले लिएर जानुपर्छ ।

पहिले-पहिले दुलहा चण्डोलमा र दुलही डोलीमा आउने भए पनि आजभोलिसँगै बस, जिप वा ट्याक्टरमा बसेर आउन थालेको पाइन्छ ।

थारूहरूका अनुसार दुलहीको गाउँको सिमाना पुगेपछि जन्तीलाई स्वागतका लागि दुलही तर्फका महिलाहरू टाउकोमा डेलुवा (आकर्षक ढकिया) र कलश लिएर आउँछन् । दुलहालाई पंखा हम्किदिने, गाजल लगाइदिने जस्ता कार्य गर्ने पनि चलन थियो । दुलहालाई दुलही घरको पूजा कोठामा लगेर पूजापाठ गरिसकेपछि जन्ती सहितलाई बस्न बनाइएको जीउनासमा दुलहा पक्षका सबै रात काट्छन् र अर्को दिन जन्ती फर्किन्छ ।

जन्ती दुलही लिएर फर्केपछि घर पस्न पहिले मूल ढोकामा खाने तेलको दियो बालेर र आगो राखेर दुलहा-दुलहीलाई टाउको ठोक्काएर घरभित्र प्रवेश गराउँछन् । घरभित्र पस्ने बेलामा दुलहा र दुलहीले लगाएको लुगा गाँठो पारी एउटैमा बाँधिदिन्छन् । थारूहरूको देउता रहेको कोठा दिहुरारमा लगेर पूजापाठ गरिसकेपछि विवाह सम्पन्न भएको मानिन्छ ।

कैलाली टीकापुरका जितबहादुर चौधरीका अनुसार थारू समुदायले विवाह गर्दा विवाहको तयारी गरिसकेपछि बरात जानुभन्दा एक दिनअघि सगुन तथा जन्तीले खाना खान चामल दाल नुन तेल बेसार तरकारी लगायतका खाद्य वस्तु दुलहीको घरमा पठाउने चलन छ, जसलाई थारूले ‘चाउर पर्छना’ भन्छन् । जन्ती जाने अघिल्लो साँझ जाँतोमा मास पिस्ने गरिन्छ जसलाई थारूले डिउली डर्ना भन्छन् ।

टिप्पणीहरू
Loading...