Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलारीलाई जातीय छुवाछुत मुक्त घोषणा गर्ने तयारी

0 19

कैलाली, १९ पुस । कैलालीको कैलारी गाउँपालिकालाई विभेदमुक्त पालिका घोषणा गर्ने तयारी गरिएको छ ।

सो गाउँपालिकामा तुलनात्मक रुपमा जातीय विभेद न्यून रहेकाले जातिय छुवाछुत तथा विभेदमुक्त गाउँपालिका घोषणा गर्ने तयारी गरेको हो । पुस २४ गते एक कार्यक्रम गरेर गाउँपालिकालाई जातिय छुवाछुत तथा विभेदमुक्त गाउँपालिका घोषणा गर्ने जनाइएको छ ।

यसैबीच, कैलारी गाउँपालिका, दलित महिला अधिकार मञ्चको संयुक्त आयोजना र डीसीएको आर्थिक सहयोगमा जातिय छुवाछुत तथा विभेदमुक्त गाउँपालिका घोषणाका लागि आइतबार पालिकास्तरीय अन्तरक्रिया गरिएको छ ।

कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता बालाराम भट्टराईले कैलारी गाउँपालिकामा जातीय विभेदको सवालमा गरिएको अध्ययनबाट प्राप्त नतिजा प्रस्तुत गरेको थिए । सो क्रममा उनले ९७ प्रतिशत थारु समुदायको बसोबास रहेको कैलारीमा जातीय विभेद कम रहेको बताए ।

कार्यक्रममा कैलारी गाउँपालिकाका उपाध्यक्ष सत्गौंवाले जातीय छुवाछुत र विभेदरहित समाज बनाउन चिन्तन, सोंच परिवर्तन गर्न आवश्यक रहेको बताइन् । उनले विभेद अन्त्यका लागि जनचेतना फैलाउन आवश्यक रहेको उल्लेख गर्दै थपिन्–‘दलित समुदायलाई आत्मनिर्भर बनाउनु पर्दछ । उनीहरुको मागको आधारमा कार्यक्रम लैजाने विषयमा गाउँपालिका लागि परेको छ ।’

उनले जातीय छुवाछुत तथा विभेदमुक्त समाज निर्माणका लागि जनप्रतिनिधि र कर्मचारी लागेरमात्रै नहुने उल्लेख गर्दै सबै एकजुट भएर लाग्न आवश्यक रहेको बताइन् ।
कार्यक्रममा कैलारी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख यगम कलेल, दलित महिला अधिकार मञ्चका निर्देशक सावित्रा घिमिरे, दीपक सुनार लगायतकाले बोलेका थिए ।

कार्यक्रममा वडा अध्यक्षहरु कैलाशपसाद चौधरी, कमलप्रसाद चौधरी, भिखराम चौधरी, बालकृष्ण चौधरी, सन्तु चौधरी, प्रेम चौधरी, विष्णुप्रसाद चौधरी, गाउँपालिकाका गाउँसभा सदस्य, दलित समुदायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

टिप्पणीहरू
Loading...