अर्जुन दासका हत्यारालाई कारवाहीको माग गर्दै प्रर्दशन
टीकापुर,६ पुस । कैलालीका अर्जुन दासका हत्यारालाई कारवाहीको माग गर्दै मंगलवार इलाका प्रहरी कार्यालय टीकापुर अगाडि प्रर्दशन गरेका छन् । जानकी गाउँपालिका–९ अमरावतीका करिब २५ वर्षीय दासका आफन्तले मृतकका परिवारलाई क्षतिपुर्ती र दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले प्रहरी कार्यालय अगाडि हत्यारालाई सार्वजनिक गर्न र शान्ति सुरक्षाको ग्यारेन्टी गर्न माग राख्दै नाराबाजी गरेका थिए ।
शुक्रबार करिब ५ बजेतिर उनी घरबाट निस्केका थिए । शनिवार उनको शव रुखमा बाँधेर टाउको काटिएको अवस्थामा अमरावती सामुदायिक वनमा फेला परेको थियो । जंगलमा घाँस काट्न गएकाहरूले उनको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
दासको हत्या भएपछि स्थानीयले ललित परियारको संयोजकत्वमा संघर्ष समिति समेत बनाएको छ। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले हत्याको आशंकामा एक जनालाई पक्राउ गरिसकेको छ।