Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

0 18

काठमाडौं, १ पौष ।। निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले बिहिबार एक सूचना प्रकाशित गर्दै निर्वाचन प्रयोजनका लागि आजदेखि पुस १० सम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न भनेको छ।

राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २० मा सकिँदै छ । रिक्त हुने पदमा एक मनोनित बाहेकका १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । चार वर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशीकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत छन्।

नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन सदस्यको पनि फागुन २१ कार्यकाल समाप्त हुनेछ।

राष्ट्रपतिबाट विषयविज्ञका रूपमा मनोनित सदस्य बिडारीको पनि सोही मितिमा चार वर्षे कार्यकाल समाप्त हुँदैछ। पदावधि समाप्त हुनेमा अगमप्रसाद वान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, खीमकुमार विक, चक्रप्रसाद स्नेही, जीवन बुढा, दृगनारायण पाण्डे, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट, दीनानाथ शर्मा, नैनकला ओझा, राधेश्याम अधिकारी, रामलखन चमार, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवर छन्।

२०७५ असार ४ गते भएको गोला प्रथाद्वारा चारवर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको हो। स्थायी सदन भएकाले राष्ट्रियसभाका एकतिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ। चारवर्षे पदावधि सकिनेमा सात महिला, तीन दलित समुदाय, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकबाट दुई र अन्य समुदायका सात सदस्य छन्।

माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा सदस्यको पदावधि छ वर्षको हुन्छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुन्छन्। राष्ट्रियसभा सदस्यका लागि ३५ वर्ष उमेर पुगेको हुनुपर्छ। प्रवुद्ध समूहको प्रतिनिधित्व हुने भएकाले राष्ट्रियसभालाई परिपक्व सदन मानिन्छ।

२०७४ भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) २७, नेपाली कांग्रेस १३, नेकपा (माओवादी केन्द्र) १२ तथा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र सड्घीय समाजवादी फोरमले दुई/दुई सिटमा विजयी हासिल गरेका थिए। सत्तारूढ गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गरेर जाने तयारी गरेका छन्। 

टिप्पणीहरू
Loading...