नेतृत्वमा सहमति नजुट्दा माओवादीको प्रदेश सम्मेलन लम्बियो
धनगढी, २७ मंसिर । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीमा नयाँ नेतृत्वका लागि सहमति जुट्न सकेको छैन। नेतृत्वमा सहमति हुन नसकेपछि प्रदेश कमिटी चयन प्रकृया लम्बिएको छ । शनिबार र आइतबार गरेर दुई दिनका लागि प्रदेश सम्मेलन तोकिएको थियो। सहमतिका लागि सम्मेलन लम्बिएको छ।
अहिले प्रतिनिधि सम्मेलन स्थलमा जम्मा भइसकेका भए पनि अपराह्नसम्म बन्द सत्र सुरु भइसकेको छैन। सहमति जुटाउन नेताहरुले छलफल तीव्र पारेका छन्। अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसकेको माओवादी स्रोतले जनाएको छ।
माओवादीको प्रदेश अध्यक्षका लागि सातजनाले दावी गरेका छन्। माओवादीको वर्तमान प्रदेश अध्यक्ष एवम् केन्द्रीय सदस्य शरद सिंह भण्डारी, प्रदेशका सहइन्चार्ज एवम् केन्द्रीय सदस्यद्वय वीरमान चौधरी, नेपबहादुर चौधरी, केन्द्रीय सदस्य एवम् बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवरले अध्यक्षमा दावी गरेका छन्।
यस्तै माओवादी सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत रहेका राष्ट्रिय सभा सदस्य हरि चौधरी ‘उत्सव’, प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी र प्रदेश कमिटी सदस्य हरि ज्ञवालीले पनि अध्यक्षमा दावी गरेका माओवादीका एक नेताले बताए। अहिलेका अध्यक्ष भण्डारी र राष्ट्रिय सभा सदस्य चौधरीमध्ये एकजना प्रदेश अध्यक्ष हुने संभावना रहेको ती नेताको दाबी छ।
माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले सकेसम्म सहमतिमै जोड दिने र सहमति नभएको अवस्थामा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरिने बताइसकेका छन्। अधिवेशनले नौजना पदाधिकारीसहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गर्ने इन्चार्ज भट्टले जानकारी दिए।
सुदूरपश्चिममा माओवादीका ८० हजार ४२७ हजार सदस्य रहेका उक्त पार्टीले जनाएको छ । सबैभन्दा बढी कैलालीमा २८ हजार ५४७ जनाले पार्टी सदस्यता लिएका माओवादी प्रदेश अध्यक्ष भण्डारीले जानकारी दिए। माओवादीको पालिका र वडा सम्मेलन यसअघि सम्पन्न भइसकेको छ।