बडुवाल हत्या प्रकरण : आरोपीलाई धरौटीमा छाडेको विरोधमा अदालतमा प्रदर्शन
धनगढी, २७ मंसिर । कैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणका आरोपीलाई धरौटीमा छाडेको भन्दै जिल्ला अदालत अगाडि प्रदर्शन गरिएको छ। सोमवार बडुवालका आफन्तहरुले आरोपीलाई धरौटीमा छाडेको विरोध र कारबाहीको माग गर्दै कैलाली जिल्ला अदालत अगाडि प्रदर्शन गरेका हुन्।
उनीहरुले हत्यारालाई कारबाही गर, मान्छे मार्न पाइदैन, न्यायालय बिक्नु हुदैन लगायतका नारा लगाएका छन्। फरार अभियुक्तहरुलाई पनि कारबाहीको दायरमा ल्याउन माग गरिएको छ।
कात्तिक २३ गते मंगलवार राति लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या भएको थियो। हालसम्म बडुवालको हत्या प्रकरणमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। अन्य ३ जना भने धरौटीमा छुटेका छन्। यस्तै हत्या अभियोग लागेका ९ जना भने अझै फरार छन्।