को हुन् कठरिया थारु ?
राजेन्द्र कठरिया
पहलमानपुर, २२ मंसिर ।। नेपालको तराईको समथर भु–भाग को कैलाली तथा भारतको उत्तर सिमाना लखिमपुर खिरी को केही भु–भागमा बसोबास गर्ने आदिवासी जनजाती मध्य कठरिया थारु पनि एक प्रमुख जाती हो । थारु कल्याणकारी सभा होस् या थारु आयोग कठरिया थारु जाती लाई थारु जातीको एक थर अन्तर्गत परिभाषित गरेको छ । तर आफ्नो मातृभाषा, परम्परागत रितीरिवाज, अलग संस्कृतिक पहिचान, अलग समाजिक संरचनाका साथ साथै अलगै ईतिहास भएको कारणले कठरिया थारु जाती आदिबासी जनजाती मध्य एक जाती हो भन्ने हाम्रो ठम्याई छ ।
आफ्नो अलगै रहन–सहन, भेष–भुषा, बोली–भाषा भएको कठरिया थारु स्वभाबैले सिधासाधा तथा ईमान्दार हुन्छन् । कठरिया थारुहरु आफ्नो बचनको पक्का, सत्य बोल्न मन पराउने, लडाई झगडा तथा चोरी डकैतीबाट टाँढै बस्न रुचाउँछन् । आफ्नो रिती संस्कृति तथा चाडपर्बमा रमाउन मन पराउने कठरिया थारुहरु आफ्नो मान्यजन तथा अग्रजहरुको पाउँ छोएर तथा रामजोहारी गरेर आदर सम्मान गर्ने गर्दछन् । धनको गरिब भएपनि मनको धनि कठरिया थारुहरु आफु सँग केहि नभएपनि आफ्ना घरमा आएका पाहुनालाई ऋण कर्जा गरेर भएपनि स्वागत सत्कार अवश्य गर्दछन् । सफासुग्घर घर बनाएर बस्न मन पराउने कठरियाहरुका घर फुला लगायत बिभिन्न किसिमका आकृतीमा नाँहा (माटि को बुट्टा) काढेर बनाइएको आकर्षक तथा मनमोहक हुन्छ । खेतीपाती तथा चौपाया पालन यस समुदायको प्रमुख पेशाको रुपमा रहेको पाईन्छ यद्यपि अहिले ब्यापार तिर पनि अग्रसर भएको देखिन्छ । चौपाया जनावरहरुका लागी अलगै घर बनाइएको हुन्छ जसलाई सार या घारी (गोठ) भनिन्छ ।

सुखद् तथा एकदम सादगीपुर्ण सामान्य जिवनयापन गर्दै आईरहेका यस समुदायको खानपान पनि एकदम साद्गिपुर्ण हुन्छ जसमा प्रमुख खानाको रुपमा दाल, भात,रोटी ,तरकारी तथा चटनी (कुच्चा) हुन्छ । यस्तै चाडपर्ब तथा समय अनुसार खिर, तिलहा पक्की रोटी, उर्दको कचरिया, घुचिया, ढिकरी, कोहरी, अन्दिक मिसौला भात, शुरुवा तथा माड् सहायक खानाको परिकारको रुपमा हुन्छ । लोग्ने मान्छे झगिया, गतिया, धोती–कुर्ता, कुल्ही (टोपी) तथा आईमाईहरु हुनियाँ, अंगिया, नहँगा पैहिरनको रुपमा लगाउने गर्दछन् । गहनाका धनी कठरिया थारु जातीमा तौंकला, बन्दी, बिर, चम्कली, झुम्का, हमेल, टंडिया, बाजु, रिंगिया, कन्सरी, नौगिरही, जहर चुरबा, पैरी, छुँछी, बुलाका, नथ्नी जस्ता सुनचाँदीका गहनाहरु बिशेष आभुषणका रुपमा हुने गर्दछ ।
पचैंया, अठैयाँ (दशैं), दिबारी (दीपावली), तथा फगुई (होली) कठरिया समुदायका खास चाडपर्वहरु हुन् । बन्ना अतबार, सकट बिनायक बाबा, अषाढी पुजा, हरेरी पुजा तथा क्वाँरी पुजा यी कठरिया समुदायका खास–खास पुजाहरु हुन् । यसै प्रकार धान रोपाई सकिएपछि हरअट्की खाने तथा केही दिन पछि गाउँका नातागोताहरु लाई हरधोबा खुवाउने, धान काटेर सकिए पछि निमौनी (औलेही) खाने, घर बनाई सकेपछि घर बनौनी खुवाउने चलन हुन्छ, जसलाई खानपिन (उत्सबको) रुपमा मानाइने गरिन्छ ।

कठरिया थारु समुदायमा जन्म देखि मरन सम्मका आफ्नै संस्कार छ । जब बच्चाको जन्म हुन्छ तब आमा तथा बच्चाको स्याहार सुसार दाईबुढिया (सुढेनी) मान्छेले गर्ने गर्दछन् । बच्चाको गोंडी छुटेको केही दिन पछी बच्चाको छठ्ठी (न्वारन) गरिन्छ तथा आउने पहिलो गंगा दशेहरामा बच्चाको सुरुको कपाल मुण्डन गरेर मुडकतरी गरिन्छ । जब बच्चा जवान हुन्छन् तब पहिले मँगनी गर्ने चलन हुन्छ र जब दुबै परिवारको सहमती तथा तयारी पुरा हुन्छ त्यसपछि कठरिया परम्परा अनुसार बिबाह गरिन्छ । कठरिया समुदायमा सानैमा मँग्नी लगाउने चलन थियो जुन अहिलेको बर्तमान अवस्थामा धेरै हदसम्म सुधार भैसकेको छ । कठरिया थारु जातिमा बिवाहको आफ्नो अलग्गै परम्परा तथा संस्कार छ । कठरिया समुदायमा आफ्नो छोरीलाई दाईजो रुपमा पाँच भाँडा दिने परम्परा छ । जब मान्छेको मृत्यु हुन्छ तब अग्नी दिएर अथवा माटी दिएर अन्तिम संस्कार गर्ने चलन छ । अन्तिम संस्कार गरेको केहि दिन पछि भातपानी कार्यक्रम गरिन्छ जसमा अपना सम्पुर्ण नाता गोता सहभागी भई कपाल मुन्डन गराई तथा विभिन्न प्रकारका पकवान र खाना पकाएर दिने परम्परा छ ।
कठरियाहरुको बोल्ने भाषा कठरिया भाषा हो जुन एकदम बिनम्र तथा सभ्य हुन्छ । कठरिया समुदायको आफ्नो कैठी/उनामासी लिपि छ । कैठी/उनामासी लिपि कठरिया समुदायको पुर्खाहरु चलन चल्तीमा ल्याएको पाईन्छ । यसको प्रमाणको रुपमा अहिले पनि कठरिया गाउँमा गितबाँस तथा हिसाब किताब कैठी/उनामासी लिपिमा लेखिएको कागजात पाईन्छ तर आजभोली यसको प्रयोग गरेको देख्न पाईदैन । कठरिया थारु जाती भित्र बडौका, बडायक, महतौं, रावत, बडबाईक, राना, दहीताने आदी कुडी पर्दछन् । प्रकृति पुजक कठरियाहरु बिभिन्न देबी देउतामा आस्था रहेको सनातन धर्मालबी हुन् जसलाई हिन्दु धर्म भनिन्छ, यसको अलावा कठरियाहरुको आफ्नो देउता पनि हुन्छन् जुन आफ्नो कुडी (गोत्र) अनुसार अलग अलग हुने गर्दछ । जस्तै की बडौका कुडी (गोत्र) भएकाहरुको अफ्नो देउतामा माता, सौंरा, बिसहर, तथा नंग्राही (कामराज, धामराज) को रुपमा पुजा गर्छन ।

चाडपर्व, उत्सव तथा मौसम अनुसार कठरिया समुदायका अफ्ना परम्परागत अलग अलग बैरासु, बेहु तथा होरीका गितबाँस छन् । होरी नाँच, भक्तुवा नाँच तथा पटेवा नाँच कठरिया समुदायका बिशेष परम्परागत मौलिक नाँच हुन् । ढोल, डफ र चिन्झो (झान्झ) कठरिया समुदायका परम्परागत बाजा हुन् । कला तथा सिपको धनी यो समुदायमा आफ्ना जरुरी घरेलु समान खरादेर बनाएको पल्खा, खटिया, मचुलिया, ढंचोला, मिथौरा, टुकनी, बेना, पिटरिया, पुर्का, गुन्द्री, डेहरी, लढिया, ढेंकी ई सबै आफै बनाउने गर्दछन् । कठरियाहरुको अस्त्रमा ढाल–तलवारको बिशेष स्थान छ, जुन बिरताको प्रतिकको रुपमा जनाउँछ । अहिले पनि दुलहा जब दुलही लिन बारात जाँदा तलवार साथमा लिएर अवश्य जान्छ । एक ठाउँ बाट आर्को ठाउँमा बसाई सराई गर्न नरुचाउने यो समुदाय एकै ठाउँमा मिलीजुलीे बस्ना मन पराउँछन् । जातिय छुवाछुतमा बिश्वास नगर्ने कठरिया थारु समुदायमा भुत, प्रेत तथा बोक्सी हुन्छन् भनि केही हद सम्म विश्वास गर्दछन् । कठरिया थारु समुदायमा एक आपसी झगडा या कुनै विवाद भएमा पधनाको रोहोवरमा पञ्चायत गरेर फैसला गर्ने प्रचलन छ जुन अहिले भल्मन्सा को रुपमा चलन चल्तीमा छ ।

कठरिया थारु जातीको ईतिहासको बारेमा खोजबिन गर्ने हो भने कठरियाहरु कहाँ बाट कहिले आए, कठरिया शब्द नामाकरण कसरी भयो यो सम्बन्धमा लिखित कुनै दस्ताबेज तथा प्रमाण पाईदैन । कठरिया थारु समुदायको पुरानो कठरिया बस्ती नदीको किनारमा रहनु एउटा आधार छ की कठरियाहरु बर्षौ देखी यो ठाउँमा बासोबास गर्दै आइरहेका छन् । कठरियाहरुको ईतिहासको बारेमा बिभिन्न फरक फरक भनाईहरु पाईन्छ । कसैको पनि पहिचान अक्सर स्थान बाट हुने गर्दछ । जस्तै की नेपालको नेपाली, भारतको भारतिय, जपानको जपानी तसर्थ कठरियाहरुको नामाकरणको पछाडी पनि स्थान आधार बनेको होला भनि अनुमान लगाउन सकिन्छ । एउटा भनाई अनुसार भारतको मुरादाबाद देखि बदनयन (बदायुँ) सम्मको क्षेत्रलाई कठार क्षेत्र भनिन्थ्यो र यो क्षेत्रमा बासोबास गर्ने जाती समुदाय लाई कठरिया जाती भनिन्थ्यो । जब सन् १०६० को दशक तिर मुस्लिम अक्रान्ताहरु भारतमा आक्रमण गरे र युद्घ को थालनी भयो । त्यसबेला मुस्लिम अक्रान्ताहरु सँगको लडाई हाररे कठरियाहरु आफ्नो ज्यान तथा अस्तित्व बचाएर त्यहाँ बाट भागेर आए र पहाडीको फेदमा रहेको समथर जंगली भु–भागमा लुकेर बासोबास गरे र तिनिहरुको नामाकरण कठरिया भयो भन्ने मान्यता छ । दोश्रो भनाई अनुसार कठरियाहरुका पुर्खाहरु भारतको बिहार प्रान्तको कटिहार भन्ने ठाउँबाट आए त्यसकारण कठरिया नामाकरण भयो भन्ने मान्यता छ । तेश्रो भनाई अनुसार प्राचिन समयका बिषामपयन नामका एक जना प्रसिद्घ ऋषि थिए । उनका छोरा काठ ऋषि काठोपानीरादा नाम को ग्रन्थ लेखेका थिए । पछि उनबाट जन्म लिएका छोरा तथा तिनका साखा–सन्तानहरुको कठरिया जाती नाम रहन गयो ।

कठरियाहरु कहाँ बाट आए यस कुराको कुनै लिखित प्रमाण र आधार नभेटिनुको कारण यो हुनसक्छ की कठरियाहरु यो क्षेत्रमा आएर बासोबास गर्ने पहिला आदिवासी जनजाती हुन् सक्छन् भनि अनुमान लगाउन सकिन्छ र जहाँबाट कठरियाहरुका पुर्खाहरु आए त्यहाँ तिनिहरु माथी धेरै दमन र अत्याचार भयो होला त्यसकारण त्यस ठाउँको उल्लेख कहिले पनि गरेनन् त्यसकारण कठरियाहरु कहाँबाट आए यसको बारेमा न त लिखित प्रमाण भेटिन्छ न आधिकारिक जानकारी । जबकी दाङ्गबाट आउनेहरु डंगौरा तथा पहाडबाट आउनेहरु लाई पहाडी भनि भनियो । जब कठरियाहरुका पुर्खाहरु यस ठाउँमा आएर बासोबास गरे अनि शुरुमा धेरै नरकिय जीवन बिताए । त्यो समयमा यस क्षेत्रलाई कालाबंजर (कालापानी) भनिन्थ्यो र यो ठाउँ यति नरक र दुरदान्त थियो की त्यो समयमा राजा र शासकहरु कसैलाई कडा दण्ड दिनुपरेको खण्डमा दण्ड पाएका मानिसहरुलाई जेल नपठाई कालापानीमा पठाउँथे र तिनिहरुको औंलो रोग लागेर मृत्यु हुनेगर्थ्यो । तब त्यस बेलाका पुर्खाहरु धेरै संघर्ष गरेर दुःख र कष्ट सहेर यो ठाउँ लाई बस्न लायक बनाए ।
कठरिया थारु समुदायको बोल्ने सभ्य बोली भाषा, सादगीपुर्ण खानपीन, सुन–चाँदीका हरेक किसिमका गर–गहना र पहिरन यसैप्रकार अस्त्र सस्त्रमा ढाल तलवार को बिशेष स्थान हुनु, यी बिभिन्न कारणले स्पष्ट रुपमा अनुमान लगाउन सकिन्छ की कठरियाहरु सम्पन्न वर्गका राजपुत (क्षत्रिय) थिए होला । तर जब आफ्नो ज्यान र अस्तित्व बचाउनका लागि तिनिहरु अफ्नो सबथोक छोडेर यस ठाउँमा आएर बासोबास गरे त्यसपछि उनिहरुको गरिबी र अभावले भरिएको कष्टपुर्ण जीवनको शुरुवात भयो । त्यसबेला खेती गर्ने औजार र प्रविधीके कमि, मलखाद तथा सिंचाईको कमी, सायद पुर्खाहरु क्षत्रिय भएको कारणले होला खेती गर्ने अनुभवको कमि यी विभिन्न कारणले खेती गर्ने धेरै जमिनको वावजुद हाम्रो पुर्खाहरु सँग बाह्रै महिना खानाको लागि अन्नको कमि पर्थ्यो । त्यो समयमा तिनिहरु चामलमा मकैको दरिया मिसाएर पकाइएको भात, मास–मछरी, साग–सिमार, दुध–दही, माड (एक कटोरा चामलमा दश कटोरा पानी हालेर पकाएको खाना) तथा आँपको झोल बाट आफ्नो पेट पाले । त्यसबेला उनिहरुको हालखबर लिने कोई पनि थिएन । औंलो र हैजा जस्तो महामारीबाट पुरा गाउँका गाउँ खाली हुने गर्दथे । त्यसबेला कठरियाका पुर्खाहरु दुःख बिमारमा धामी–झाँक्रि, जडीबुटी र भगवान माथिको आस्था र भरोसाको भरमा आफ्नो जिउ धन जोगाए सायद त्यसै कारणले कठरियाका पुर्खाहरु आफुहरुलाई प्रकृति पुजक को रुपमा स्थापित गरे ।

जसरी जसरी समय बित्दै गयो त्यसरी त्यसरी कालाबंजर/कालापानीको रुपमा कलंकित त्यो बंजरभुमी उर्वर जमिनको रुपमा खेतीपाती र वासोवासको लायकको बन्दै गयो र यो ठाउँमा वासोवास गर्ने मानिसहरुको बस्ती बढ्दै गयो । मानिसहरुको वस्ती जसरी जसरी बढ्दै गयो त्यसरी त्यसरी समाजको सम्पुर्ण क्षेत्रमा विकास हुदै गयो तर कठरिया समुदाय यी हरेक क्षेत्रमा पछि पर्दै गए अथवा पारिदै गए । अहिले पनि कठरिया समुदाय राजनैतिक, प्रशासनिक र सरकारी रोजगारीमा पहुँच, शिक्षा, स्वास्थ्य, संचार, आर्थिक लगायत सम्पुर्ण क्षेत्रमा पछि परेका छन् । यहाँ सम्म की कठरिया समुदायको जनसंख्या कति छ यसको एकिन तथ्यांक विवरण समेत छैन् ।
अहिले पनि कठरिया थारु विशेष पहिचान लगायत अलग अलग मुद्धा लिएर संघर्ष गर्न बाध्य छन् । विक्रम सम्बत २०५९/६० तिर कठरिया समाज सुधार समिती मार्फत पुर्व राजा ज्ञानेन्द्र शाहको अभिनन्दन सभामा बुझाइएको ज्ञापन पत्र होस् वा विक्रम सम्वत २०६८/६९ तिर कठरिया समाज नेपालले गरेको बृहत सभा समारोह होस्, या विक्रम सम्वत २०७५ मा कोंटातुल्सीपुरमा कठरियन पोष्ट र कठरिया समाज नेपालको संयुक्त आयोजनामा गरिएको पहिलो होरी उत्सब वा फेरि बिक्रम सम्बत २०७७ मा चर्रामा भजनी नगरपालिका वडा नं. ७ चर्रा र कठरिया समाज नेपालको संयुक्त आयोजनामा गरिएको दोश्रो होरी उत्सव कार्यक्रम वा उक्त कार्यक्रमका प्रमुख अतिथि तथा तत्कालिन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट ज्यु लाई बुझाइएको ज्ञापन पत्र सबैको एउटै उदेश्य र सन्देश थियो कठरिया थारुहरुको भाषा, संस्कृति र पहिचान बचाउनु र अन्य जनजाती सरह कठरिया थारु जाती लाई पनि राज्यको अंगमा सुचिकृत गराउनु ।
अल्पमतबाट पिडित कठरिया थारु राजनैतिक मुलधारबाट धेरै दबाइएका छन् । हुन त कठरिया थरका थारु नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया लगायत अन्य जिल्लामा पनि छन् तर तिनिहरु भन्दा कैलालीका कठरिया थारुहरु शैक्षिक रुपमा एकदमै पछि परेका, राजनैतिक मुल प्रवाहबाट बन्चित रहेको, संस्कृतिक भावना मुल्य मान्यता र भाषामा अन्य जातीको अतिक्रमण लिएर बढि चिन्तित र संघर्षरत छन् । समग्र थारु समुदाय संघको लवाई–खवाई तथा बसाईमा केहि समान्ता रहे पनि भाषिक र साँस्कृतिक भावना फरक छन् । तसर्थ कलात्मक पहिरन, साँस्कृतिक, बोली भाषा र पुजा संस्कारलाई लिएर कठरिया थारु अलग पहिचानका हकदार छन् । यो लेख कठरिया सन्देश साहित्यिक पत्रिकाबाट साभार गरिएको हो ।
लेखक कठरिया सन्देश डटकमका प्रकाशक, सम्पादक हुन् ।