भल्मन्सा प्रथालाई कानुनी मान्यता दिन्छौं–मुख्य मन्त्री भट्ट
पहलमानपुर, २० मंसिर ।। थारु समुदायको बड्घर, भल्मन्सा प्रथालाई कानुनी मान्यता दिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । सोमबार कैलालीको घोडाघोडी न.पा. १ घोडाघोडीमा आयोजित घोरीघोरा लवाङ्गी पुजा तथा सांस्कृतिक महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
थारु समुदायको कला, संस्कृतिलाई जर्गेना गर्नका निम्ति भल्मल्सा प्रथालाई कानुनी मान्यता दिन अतिआवश्यक भएको बताउंदै उनले ‘कैलाली, कञ्चनपुरका बड्घर, भल्मन्सा तथा स्थानियहरुको बृहत छलफल र सहकार्यका माध्यमबाट आवश्यक निति बनाई अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

एक अर्को प्रसङ्गमा मुख्यमन्त्री भट्टले घोडाघोडी ताल धार्मिक पर्यटकिय हिसाबले महत्वपूर्ण भएको बताउंदै उक्त क्षेत्रमा मन्दिर निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । साथै उनले हरेक बर्ष हुने लवाङ्गी पुजा तथा सांस्कृतिकका लागि आगामी बर्षमा प्रदेश सरकारले व्यवस्थापनका लागि सहयोग गर्ने बताए ।
थारु समुदायका जेहेन्दार विद्यार्थीका लागि प्राविधिक शिक्षा पढ्न छात्रवृत्तिको व्यवस्था गरेको उनले बताए । उद्घाटन कार्यक्रममा राष्ट्रिय सभा सदस्य हरिराम चौधरी, प्रदेश कृषि मन्त्री विनिता चौधरी, घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी लगायत थारु बड्घर, भल्मन्सा, अगुवाहरुको उपस्थिति रहेको थियो ।

हरेक बर्ष बिबाह पञ्चमीको दिनमा गरिने उक्त पुजा विशेष गरि थारु समुदायले नयाँ अन्न आफ्नो देउतालाई चढाएर पुजा गर्ने चलन छ भने बलिदिने प्रथा समेत रहेको छ ।
घोडाघोडी तथा संस्कृति संरक्षण समाजका अध्यक्ष चन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु समुदायको झाँकी, कला संस्कृति, भेषभुषा र खानपानले स्वागत गरिएको थियो । लवाङ्गी पुजा तथा सांस्कृतिक महोत्सब आगामी मंसिर २२ गते सम्म चल्नेछ ।
