कैलालीकी धारणा हिन्दी चलचित्रमा अमिताभ बच्चनसँग देखिने
कैलाली, १८ मंसिर ।। कैलालीकी धारणा शर्मा हिन्दी चलचित्रमा देखिने भएकी छिन्। टीकापुरमा जन्मेकी धारणालाई नेपालको नाम्चे, लुक्ला, मुस्ताङमा छायांकन भएको हिन्दी चलचित्र ‘उचाई’ मा देख्न पाइने भएको हो। अनुपम खेर, बोमन इरानी, अमिताभ बचन, परिनिती चोपडा लगायतको अभिनय रहेको चलचित्रमा उनको महत्त्वपूर्ण भुमिका रहेको बताइएको छ।
सुटिङ चलिरहेको उक्त चलचित्र यही डिसेम्बर–जनवरीमा ‘उँचाइ’को दोस्रो सेड्युल सुरु हुँदै छ। यो सेड्युलमा उनले अनुपम खेर, वोमन इरानीसँगै अमिताभ बच्चनसँग अभिनय गर्नुपर्नेछ।
टीकापुर स्थित खड्ग स्मृतिबाट एसएलसी पास गरेकी धारणा त्यो स्कुलको पहिलो महिला फुटबल टिमको क्याप्टेन थिइन्। धारणाका अनुसार उनी क्याप्टेन भएको टिम त्यो क्षेत्रकै पहिलो फुटबल टिम थियो। धारणाले प्रवीणता प्रमाणपत्र तहको अध्यान टीकापुर बहुमुखी क्याम्पसबाट गरेकी थिइन्। उच्च शिक्षा काठमाडौंमा गरेकी उनले सन २०१४ को ब्यूटी कूइनको उपाधि समेत हात पार्न सफल भएकी थिइन्।