कैलालीका १ सय १२ वडामा माओवादी केन्द्रकाे नेतृत्व चयन
कैलाली, ५ मंसिर ।। नेकपा (माओवादी केन्द्र) ले कैलालीका १ सय १२ वटा वडाहरुमा नयाँ नेतृत्व चयन गरेको छ । शनिवार देशभरी एकसाथ वडा अधिवेशन गरेको माओवादी केन्द्रले कैलालीका १३ वटा स्थानीय तहका १ सय २६ वटा वडामध्ये १ सय १२ वटा वडामा नयाँ नेतृत्व चयन गरेको हो । जिल्लाको धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा नेतृत्व चयन भएको नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रमेश धामीले जानकारी दिए । निर्वाचनका सम्पूर्ण मापदण्ड अपनायर सर्वसम्मत नेतृत्व चयन भएको उनले बताए ।
नयाँ नेतृत्व चयन गरेका वडाहरुमा ५ जना पदाधिकारीसहित २९ सदस्यीय वडा समिति गठन गरिएको नेकपा(माओवादी केन्द्र) का कैलाली जिल्ला संयोजक लालबहादुर सोडारीले जानकारी दिए । उनले नवगठित वडा समितिमा ३५ प्रतिशत महिला,१५ प्रतिशत दलित र २० प्रतिशत यूवाहरुको प्रतिनिधित्व रहेको बताए ।
केही समयको तालमेल नमिलेर जिल्लाका १४ वटा वडाहरुमा नेतृत्व चयनगर्न बाँकी रहेको बताउँदै उनले भने, ‘बाँकी रहेका वडाहरुमा पनि छिट्टै नेतृत्व चयन हुन्छ ।’ अधिवेशन सम्पन्न भएका सवै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको उनको भनाइ छ । जिल्लाको कैलारी गापाका ४ वटा,बर्दगोरिया गापाको १, मोहन्याल गापाका ३, जानकी गापाको १, चुरे गापाको १, घोडाघोडी नपाको १ र गोदावरी नपाका ३ वटा वडाहरुमा नेतृत्व चयन गर्न बाँकी रहेको संयोजक सोडारीले जानकारी दिए । जिल्लाको धनगढी उपमहानगरपालिका,गौरीगंगा नगरपालिका, भजनी नगरपालिका,टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका र लम्कीचुहा नगरपालिकाका सवै वडाहरुमा नेतृत्व चयन भइसकेको जनाइएको छ ।