कैलालीका चार स्थानीय तहमा कांग्रेसको पालिका अधिवेशन स्थगित
कैलाली, ३० कार्तिक ।। कैलालीका चार स्थानीय तहमा नेपाली कांग्रेसको पालिका अधिवेशन मंगलबारका लागि स्थगित भएको छ । धनगढी उपमहानगरपालिका सहित कैलालीका चार स्थानीय तहमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहले गरेको एक दिने नेपाल बन्द र मतदाता नामावली प्रिन्टमा ढिलाई हुँदा अधिवेशन स्थगित भएको जनाइएको छ ।
नेपाली काँग्रेस कैलाली जिल्लाका पार्टी सभापति नरनारायण शाह ’मनु’ले धनगढी उपमहानगरपालिका, गौरीगंगा, घोडाघोडी र भजनी नगरपालिकाको अधिवेशन स्थगित भएको जनाएका छन् । शाहले भने, “बन्दका कारण सबै उम्मेदवार र मतदाता उपस्थित हुन नसक्ने अवस्था देखियो । त्यसैले स्थगित गर्नु पर्यो । ”
“गोदावरी, चुरे, मोहन्याल, कैलारी, जोशीपुर, बर्दगोरिया, लम्की, जानकी र टीकापुरमा भने आजै अधिवेशन भइरहेको छ ।” शाहले भने ।सभापति शाहका अनुसार चार नगरमा भोलि बिहान ८ बजेदेखि मात्रै नगर अधिवेशन हुने छ । कांग्रेसको पालिका अधिवेशनपछि मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुने छ ।
मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशनका लागि मिति तोकिएको छ। कैलाली काँग्रेसले वर्तमान सभापतिको अध्यक्षतामा १ हजार ५ सय १ सदस्यीय जिल्ला अधिवेशन मुल व्यवस्थापन समिति गठन गरेको जनाएको छ।